७ बैशाख २०८१, शुक्रबार

चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय


चोलेन्द्रशमशेर जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भएको छ । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएका छन् ।

प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको हो । महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै जबरा आजै आफू अदालतमा हाजिर हुने समेत बताएका छन् ।

जबराले हिजो मंगलबार संसद सचिवालयमा आफ्नो महाभियोगका विषयमा जानकारी माग गर्दै पत्र पठाएका थिए । संसद् सचिवालयका महासचिव गौतमले मंगलबार नै राणाको महाभियोग निष्क्रिय भएको जवाफसहितको पत्र पठाएका थिए ।

संसद् सचिवलायका सहसचिव एवं प्रवक्ता डा. रोजनाथ पाण्डेले हिजो मंगलबार जबराले दिएको पत्रको जवाफ पठाइएको बताए । संसद् सचिवलायले गत मंसिर ४ गते सम्पन्न भएको चुनावबाट नयाँ सांसद चुनिएपछि प्रधानन्यायधीश जबराविरुद्धको महाभियोग पनि निष्क्रिय भएको पत्र पठाइएको बताइएको छ ।

सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरूले गत फागुन १ गते महाभियोग प्रस्ताव संसद्मा दर्ता गरेका थिए । उक्त प्रस्तावलाई फागुन २९ गते संसद्‌मा प्रस्तुत गरिएको थियो ।

जबरा उमेर हदका कारण यही मंसिर २७ गतेदेखि सर्वोच्च अदालतबाट अवकास पाउँदैछन् । जबरा २०७५ पुसमा प्रधानन्यायाधीश भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !