१२ बैशाख २०८१, बुधबार

राष्ट्रपति भण्डारीलाई भेटे जनमत पार्टीका अध्यक्ष सीके राउतले


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राउतले आज मंगलबार शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राउतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटघाट तथा देशको समसामयिक राजनीतिक निकासको विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई निर्वाचनमा हराएर नेपाली राजनीतिको चर्चाको शिखरमा पुगेका राउतको सक्रियता बढेको छ । राउतले केही दिनयता प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गरिसकेका छन् ।

राउतले राष्ट्रपति भण्डारीसहित प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवादेखि अन्य राजनीतिक दलका शीर्ष नेतारुसंग भेटवार्ता गरेका छन् ।

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, गृहमन्त्री बालकृष्ण खाण र लोसपाका राजेन्द्र महतो लगायतका नेताहरुलाई भेटिसकेका हुन् ।

सांसदमा निर्वाचित भएसंगै नयाँ सरकार गठनको बारेमा रस्साकस्सी चलेका बेला राजनीतिक दलका शीर्ष नेताहरुसंग उनको भेटवार्ता बाक्लिएको छ । प्रतिनिधिसभामा एक सिट मात्र जितेको जनमत पार्टीका अध्यक्ष राउतले नयाँ सरकार गठनमा आफू निर्णायक शक्ति भएको भनेर दौडधूपलाई तीव्रता दिंदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !