८ बैशाख २०८१, शनिबार

गठबन्धनको बैठकअघि प्रचण्ड, नेपाल र राउतबीच कोटेश्वरमा भेटवार्ता


गठबन्धनको बैठकअघि प्रचण्ड, नेपाल र राउतबीच कोटेश्वरमा भेटवार्ता

काठमाडौँ । आम निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आज आएसंगै नयाँ सरकार गठनको बारेमा राजनीतिक दलका शीर्ष नेताहरुबीच भेटवार्ता बाक्लिएको छ । यसै क्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको सक्रियता पनि बढेको छ ।

यसैबीच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निवास कोटेश्वरमा आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष नेपाल र जनमत पार्टीका अध्यक्ष डा. राउतबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा आज सत्ता गठबन्धनको बैठक बस्नुअघि तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो । गठबन्धनको बैठकमा खुमलटारबाट निस्किएका प्रचण्ड अध्यक्ष नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए ।

कोटेश्वरमा प्रचण्ड र नेपालको भेटवार्ता भइरहेको क्रममा जनमत पार्टीका अध्यक्ष राउत पनि पुगेका थिए । उक्त वार्तामा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएको बुझिएको छ ।

भेटवार्ता सकेपछि प्रचण्ड र नेपाल छुट्टा-छुट्टै कोटेश्वरबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार निस्किएका थिए । अव बन्ने सरकारमा देउवा र प्रचण्डका अलावा नेपाल पनि अप्रत्यक्ष रुपमा मौका आए प्रधानमन्त्री बन्ने दाउमा छन् ।

नेपालको राजनीतिमा अहिले ठूला पार्टीका शीर्ष नेताहरु कसरी आफू प्रधानमन्त्री बन्न सकिन्छ भनेर साम, दाम र दण्डभेद लगाएर अघि बढेका छन् । एक सिट मात्र जितेको जनमत पार्टी पनि नयाँ सरकार गठनमा आफू निर्णायक शक्ति भएको भनेर दौडधूपलाई तीव्रता दिंदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !