११ बैशाख २०८१, मंगलबार

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सुरु


सत्ता गठबन्धनका शीर्ष नेताको बैठक

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक केही समयअघि सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको हो । आजको बैठकमा निर्वाचन परिणामको समीक्षालगायत विषयमा छलफल हुने बताइएको छ ।

गठबन्धनका शीर्ष नेतासहितको बैठकमा नयाँ सरकार गठनबारेमा समेत छलफल हुने बताइएको छ । पाँच दलीय गठबन्धनमा हाल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा छन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, जनमोर्चाका दुर्गा पौडेललगायतका नेता सहभागी छन् ।

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५७ र माओवादी केन्द्रले १८ स्थानमा विजयी भएका छन् ।यस्तै एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएका छन् ।

यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले गठबन्धनकै नेतृत्वमा आगामी नयाँ सरकार बनाउने सम्बन्धमा विभिन्न चरणमा छलफल गरिसकेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !