८ बैशाख २०८१, शनिबार

एसडी मुनी भन्छन् – देउवाले प्रधानमन्त्रीको दाबी फिर्ता लिने विचार गर्न सक्छन्

एसडी मुनीमार्फत भारतले दियो गगनलाई 'ग्रिन सिग्नल'


शेरबहादुर देउवा र एसडी मुनी

काठमाडौँ । नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एवं राजनीतिक विश्लेषक सुखदेव (एसडी) मुनीले प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको उम्मेदवार बन्ने दाबी फिर्ता लिने विचार गर्न सक्ने बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज दिउँसो लेख्दै जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक मुनीले नेपालका राजनीतिक दलका पुराना स्थापित शीर्ष नेतृत्वप्रति नेपालमा उत्पन्न भएको राष्ट्रिय प्रतिरोध र कांग्रेसभित्र आफ्नो नेतृत्वलाई बढ्दो चुनौतीलाई मध्यनजर गर्दै देउवाले प्रधानमन्त्रीको दाबी फिर्ता लिने विचार गर्न सक्ने विश्लेषण गरेका हुन् ।

यसबाट के बुझिन्छ भने सातौँपटक डडेल्धुराबाट विजयी भएका वर्तमान प्रधानमन्त्री देउवाको छैटौं पटक प्रधानमन्त्री हुने महत्वाकांक्षामा भारतले समर्थन नगर्ने संकेत गर्न थालेको रुपमा विश्लेषण गर्न सकिन्छ । छिमेकी राष्ट्रको कतिपय आन्तरिक मामलामा आफूले प्रत्यक्ष रुपमा हस्तक्षेप नगरी भारतले सुरुमा मुनी जस्ता राजनीतिक विश्लेषकमार्फत आफ्नो धारणालाई अघि सार्ने गर्छ ।

मुनीले नेपालका राजनीतिक दलका पुराना स्थापित शीर्ष नेतृत्वप्रति नेपालमा उत्पन्न भएको राष्ट्रिय प्रतिरोधको भनेको ‘नो नट अगेन’ अभियान र आम निर्वाचनपछि नेपालको राजनीतिमा यूवाको जवरजस्त उदयलाई संकेत गर्न खोजेको जस्तो बुझ्न सकिन्छ ।

‘नो, नट अगेन’ अभियान नेपालको आम निर्वाचन-२०७९ मा पुराना नेताहरूलाई निर्वाचित हुनबाट रोक्ने उद्देश्यले सामाजिक सञ्जालमा सञ्चालित अभियान थियो । कम्तीमा एकपटक प्रधानमन्त्री वा मन्त्री भएका नेताहरू यस अभियानका निशानामा परेका थिए ।

निर्वाचन आयोगले निर्वाचन मिति घोषणा गर्नुभन्दा पहिला नै यो अभियान सुरु भएको थियो । निर्वाचन आयोगले उक्त अभियानलाई सुरुमा गैरकानुनी र आचारसंहिताविपरीत भनेपछि यो अभियान झनै आक्रामक भएको थियो भने सर्वोच्च अदालतले पनि उक्त अभियानलाई रोक नलगाउन आदेश दिएको थियो । जनताले पनि आम निर्वाचनमा यो अभियानलाई समर्थन गरेर यूवालाई निर्वाचित गराएका छन् ।

मुनीले कांग्रेसभित्र आफ्नो नेतृत्वलाई बढ्दो चुनौतीलाई मध्यनजर गर्दै देउवाले प्रधानमन्त्रीको दाबी फिर्ता लिने विचार गर्न सक्ने भनेर संकेत गर्नुको अर्थ अव भारतले काँग्रेसबाट देउवाको सट्टा संस्थापनइतर पक्षका गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा देख्न चाहेको सहजै अनुमान गर्न सकिन्छ ।

निर्वाचनअघि नै आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेर संसदीय दलको नेतामा आफू चुनिने कसरतमा जोडबलले लागेका काँग्रेसका थापालाई भारतले ‘ग्रिन सिग्नल’ दिन थालेको हो की भन्ने विश्लेषण गर्न सकिन्छ । भारत नेपालमा काँग्रेस ठूलो पार्टी र यसकै नेतृत्वमा सरकार बनेको हेर्न चाहन्छ । मुनीको उक्त ट्वीटले काँग्रेसमा “बुढो गोरुले गाई ओगटेजस्तो” गरिरहने संस्थापन पक्षलाई केही धक्का लाग्न सक्छ भने संस्थापनइतर पक्षका गगनलाई केही राहत मिल्न सक्छ ।

आम निर्वाचनपछि नेपालको राजनीतिमा दक्षिणको मित्रराष्ट्र भारतले चासो बढाउँदै आएको छ । आम निर्वाचनको प्रत्यक्ष तर्फको मतपरिणाम सकिनै लाग्दा अव सरकार कसको नेतृत्वमा कुन-कुन पार्टी मिलेर बनाउने भन्ने जिज्ञासा बढेको बेला नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवको सक्रियता पनि बढेको छ ।

यो आम निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने भएपछि प्रदेश र केन्द्रमा पनि मिलिजुली सरकार बन्ने प्रष्ट देखिसकेको छ । नेपाली काँग्रेस सबभन्दा ठुलो दल भएको छ । निर्वाचनको यस्तो परिणाम आउँदै गर्दा अव सवैको ध्यान नयाँ बन्ने सरकारतर्फ केन्द्रित भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत रिक्त भएको समयमा भारतीय राजदूत श्रीवास्तवको सक्रियता पनि बढेको हो । भारतीय राजदूत श्रीवास्तवले गत मंसिर १० गते शनिबार एकैदिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तव बीच लगभग ४५ मिनेट ‘वान टु वान; वार्ता भएको बताइएको थियो । यद्यपि भेटवार्तामा के विषयमा कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन । भेटमा निर्वाचन परिणाम र भावी सरकार गठनका लागि बन्नसक्ने समीकरणका विषयमा बृहत छलफल भएको हुन सक्ने आंकलन गरिएको थियो ।

यस्तै सोही दिन प्रधानमन्त्री देउवालाई भेटेपछि भारतीय राजदूत श्रीवास्तवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उनको निजी निवास खुमलटार पुगेर पनि भेटेका थिए । प्रचण्डनिकट स्रोतका अनुसार प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच समसमायिक विषयमा छलफल भएको बताएको थियो ।

आम निर्वाचनको परिणाम कम्युनिष्टहरुको प्रतिकूल आएकोले कतिपय कम्युनिष्ट नेताहरुले बृहत कम्युनिष्ट एकताको आवाज बुलन्द गर्न थालेका छन् भने कतिपयले त अव ५ वर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने र केपी शर्मा ओली अध्यक्ष हुने गरी कम्युनिष्ट एकताको हल्ला गर्न थालेका छन् ।

यसरी नेपालमा बन्ने आगामी सरकारको विषयलाई लिएर भारतीय राजदूत श्रीवास्तव तातेका हुन् । भारतले नेपालमा बन्ने कम्युनिष्टहरुको नेतृत्वको सम्भावित सरकारलाई रोकेर कांग्रेसकै नेतृत्वमा संस्थापनइतर शेखर कोइराला पक्षका गगन थापालाई प्रधानमन्त्री बनाएर देशमा राजनीतिक स्थिरता भएको हेर्न चाहेको देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !