७ बैशाख २०८१, शुक्रबार

गठबन्धन र जनमत पार्टीबीच सहमति : संघीय र प्रदेश सरकार बनाउन सहकार्य गर्ने


शेरबहादुर देउवा र डा. सिके राउत

काठमाडौँ । डा. सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टी, सत्ता गठबन्धन र नेपाली काँग्रेसबीच संघ र प्रदेश दुबै तहमा सरकार बनाउन सहकार्य गर्ने सहमति भएको छ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले सामाजिक संजाल ट्वीटरमा केहि समयअघि लेख्दै सो जानकारी दिएका हुन् ।

नेता निधिले भर्खरै जनमत पार्टीका अध्यक्ष राउतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासंग बालुवाटारमा भेट गराएर आफू फर्कदै गरेको पनि उनले जानकारी दिएका छन् । सो विषयमा प्रधानमन्त्री देउवा र अध्यक्ष राउत दुवै जनाबीच सकरात्मक र परिणाममुलक वार्ता भएको पनि उनले बताएका छन् । भेटमा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का र कांग्रेसका नेता निधि पनि सहभागी थिए ।

प्रधानमन्त्री देउवा र जनमत पार्टीका अध्यक्ष राउतबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । कांग्रेस नेता विमलेन्द्र निधिले बिहीबार अपरान्ह राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

निधिले हिजो बुधबार पनि जनमत पार्टीका अध्यक्ष राउतसँग भेट गरेका थिए । जनमत पार्टीका अध्यक्ष राउतले यसअघि नै आफ्नो पार्टी सरकारमा जान विकल्प खुला राखेको बताएका थिए । जनमत पार्टी मधेस प्रदेशमा निर्णायक शक्तिको रुपमा उदय भएको छ ।

मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने प्रवल सम्भावना रहेको छ । राउतले नेतृत्व गरेको जनमत पार्टीसंग सहकार्य गरेर सरकार गठन गर्न कांग्रेस तातेको हो । जनमत पार्टीका अध्यक्ष राउतलाई प्रधानमन्त्री देउवाले काठमाडौं बोलाएर छलफल गरेका हुन् ।

शेरबहादुर देउवा र डा. सिके राउत

उनले ट्वीटरमा लेखेका छन्, ‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष, डा. सि के राउतलाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवा संग बालुवाटारमा भेंट गराएर फर्कदै छु। दुबै जनामा सकरात्मक र परिणाम मुलक वार्ता भएको छ । गठबन्धन र काँग्रेस संग संघिय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र सरकारमा शामेल हुने सहमति भएको छ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !