१३ बैशाख २०८१, बिहिबार

मतदान गरेपछि ओलीले भने – एमालेले बहुमत ल्याउने अपेक्षा गरेको छु


केपी शर्मा ओली मतदान

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेले बहुमत ल्याउने आफूले अपेक्षा गरेको बताएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गरेपछि अध्यक्ष ओलीले एमालेको बहुमत सरकार बन्ने बताएका हुन् ।

मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमालेका अध्यक्ष ओलीले एमालेले बहुमत ल्याउने दाबी गरेका हुन् । उनले मंसिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्ने पनि बताए ।

उनले देशभर शान्तिपूर्णरुपमा उत्साहजनक रुपमा मतदाताले मतदान गरेको उनले बताए । उनले अहिलेसम्म मतदान नगरेका सवै नेपाली जनतालाई मतदान गर्न आग्रह पनि गरेका छन् ।

उनले यो निर्वाचनले राम्रो नतिजा आउने आफूले अपेक्षा गरेको बताएपनि स्वतन्त्र उम्मेदवार बनेका र रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई अप्रत्यक्ष रुपमा संकेत गर्दै युवाहरूलाई आवेग र भावनामा बगाउने खालका प्रयासहरु भएको आरोप पनि लगाएका छन् ।

उनले आजको दिन देशकै लागि महत्वपूर्ण दिन रहेको पनि बताएका छन् । उनले रौतहट, रोल्पा, चितवन लगायतका स्थानमा केही घटना भए पनि समग्रमा निर्वाचन शान्तिपूर्ण भएको आफूले पाएको बताए ।

उनले चितवनको घटनामा विप्लवको पार्टीका कुराहरु आएको भन्दै यस्ता केही अप्रिय कुराहरु आए पनि आम रुपमा राम्रै भएकोले अप्रिय घटना भएका ठाउँमा दोहोर्याएर निर्वाचन गर्नुपर्ने धारणा राखे ।

झापा क्षेत्र नम्वर ५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष ओलीको मतदाता नामावली भक्तपुर क्षेत्र नम्वर २ को सूर्यविनायक नगरपालिका-२ बालकोटमा रहेकोले ओलीले आफैँलाई मतदान गर्न पाएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !