८ बैशाख २०८१, शनिबार

देशव्यापी रुपमा वाम-लोकतान्त्रिक गठबन्धनको जनलहर देखियो : प्रचण्ड


प्रचण्ड लोकतान्त्रिक वाम गठवन्धन काठमाडौँ क्षेत्र नं २ द्वारा बिहीबार कोटेश्वर जडिबुटीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशव्यापीरुपमा वाम–लोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर देखिएको बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ को डाँडापौवामा आज आयोजित जनसभालाई सम्बोधन गर्दै देशभरबाट गठबन्धनका उम्मेदवार विजयी हुने सुनिश्चित भएको दाबी गरे ।

“प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मैले देशभरका चुनावीसभालाई सम्बोधन गर्न जाँदा गठबन्धनको पक्षमा जनलहर आएको पायौँ”, उनले भने ।

राष्ट्रिय एकता, शान्ति र समृद्धिका लागि गठबन्धन गरिएको प्रष्ट पार्दै उहाँले निर्वाचनपछि गठबन्धनले संविधानको रक्षा, विकास र समृद्धि दिने प्रतिबद्धता व्यक्त गरे । “हामी अब सम्पूर्ण तागत विकास र समृद्धिमा लगाउछौँ”, अध्यक्ष दाहालले भने, “गठबन्धनको ध्यान विकास र समृद्धिमा जान्छ ।”

अग्रगमन र प्रतिगमनकारी शक्तिबीचको लडाईंका रुपमा निर्वाचन अगाडि आएको जनाउँदै उनले आसन्न निर्वाचनबाट प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने बताउनुभयो । “अब प्रतिगमनविरुद्ध आन्दोलन गर्नु नपरोस् भन्नका निम्ति गठबन्धनलाई जिताउनुपर्छ”, उनले भने ।

मुलुकमा राजनीतिक स्थिरता दिने र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यसहित अघिल्लो निर्वाचनमा वाम–गठबन्धन बनाइएको प्रष्ट पार्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनअपेक्षा पूरा गर्न नसकिएको बताए ।

“हामीले संविधानसभाको माग गर्दा बढ्ता विरोध गर्ने ओली २०६२/०६३ सालको परिवर्तन र वर्तमान संविधानलाई स्वीकार गरेपछि ओली सच्चिए होलान् भनेको त्यस्तो होइन रहेछ”, उनले भने, “तर पार्टी एकताको केही समयपछि ओलीले सङ्घीयता, गणतन्त्र, समावेशीता स्वीकार गरेका रैछन् । सत्तामा पुगेर प्राप्त उपलब्धिलाई उल्ट्याउने दाउमा रहेछन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !