आफ्ना उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धनको संयुक्त अपिल Nepalpatra आफ्ना उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धनको संयुक्त अपिल
१९ मंसिर २०७९, सोमबार

आफ्ना उम्मेदवारलाई विजयी गराउन सत्ता गठबन्धनको संयुक्त अपिल


शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र चित्रबहादुर केसी

काठमाडौँ । संविधानको भावना अनुसार लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि देशव्यापी रुपमा सत्ता गठबन्धनमा आवद्ध उम्मेदवारलाई विजयी गराउन गठबन्धन आवद्ध प्रमुख चार पार्टीका अध्यक्षले आग्रह गरेका छन् ।

गठबन्धनका तर्फबाट आज एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले आम निर्वाचनलाई राष्ट्रिय महोत्सवका रुपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवारलाई विजयी गराउन अनुरोध गरेका हुन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज संयुक्तरुपमा जारी गर्नुभएको विज्ञप्तिमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको छ ।

यही मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसारको क्रममा नै गठबन्धनको पक्षमा देशव्यापी रुपमा जनलहर आएको र नेता कार्यकर्तामा उत्साह पैदा भएको संयुक्त अपिलमा उल्लेख छ ।

अपिलमा भनिएको छ, “देशको संविधान, कानुन, विधि र प्रक्रिया उल्लङ्घन गरी दुई-दुई पटक गरेको प्रतिनिधिसभाको विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनुका सट्टामा भ्रष्टाचारमा निर्लिप्त हुँदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकारविरुद्ध २०७८ असारमा यो गठबन्धन बनाउनु परेको विदितै छ ।”

डेढवर्षको अवधिमा सरकारले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरमा स्थानीय निर्वाचन सम्पन्न गरेको र त्यसमासमेत सहकार्य रहेको उल्लेख गर्दै अपिलमा यस निर्वाचनमा समेत गठबन्धन एक ठाँउमा उभिएको स्पष्ट पारिएको छ । संविधानमााथि कुनै खालको आक्रमण हुन नदिने तथा विकासका पूर्वाधारलाई छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दर्दामा माथि उठाउने लक्ष्यका साथ सङ्कल्प, प्रतिबद्धता र घोषणापत्र सार्वजनिक भइसकेको स्मरण गरिएको छ ।

गठबन्धन प्रत्यक्ष निर्वाचनतर्फ भएकाले समानुपातिकतर्फ सबै पार्टीले आ-आफ्नो पक्षमा मत माग्नु स्वभाविक नै भएको अपिलमा उल्लेख छ । अपिलमा भनिएको छ, “समानुपातिकतर्फ सबै पार्टीले आ-आफ्नो पक्षमा मत माग्नु स्वभाविक हो । यसले गठबन्धनको भावनामा कुनै चोट पुर्याउँदैन ।

गठबन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावनाअनुरुप राजनीतिक स्थायित्व दिने हो ।” यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनकारी पक्षधरको गठबन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नुपरेको उल्लेख गर्दै संयुक्त अपिलमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी बनाउन आम मतदाता समक्ष आग्रह गरिएको छ ।

यस्तो छ हेर्नुहोस् सत्ता गठबन्धनको संयुक्त अपिल

गठबन्धनको संयुक्त अपिल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !