१३ बैशाख २०८१, बिहिबार

सत्ता गठबन्धनले आज काठमाडौँको कोटेश्वरमा वृहत् चुनावी सभा गर्दै


सत्ता गठबन्धन फाइल फोटो

काठमाडौँ । सत्तारुढ गठबन्धनले आज काठमाडौंमा वृहत् चुनावी सभा गर्दैछ । गठबन्धनको काठमाडौं क्षेत्र नम्बर २ चुनाव परिचालन समितिको आयोजनामा आज दिउँसो २ बजे अन्तिम चुनावी सभा गर्न लागेको हो ।

आज कोटेश्वरमा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं–२ मा गठबन्धनबाट पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती तथा प्रदेशसभा (क) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल उम्मेदवार रहेका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेसम्म मात्र अन्तिम चुनावी प्रचार गर्न पाउनेछन् । आज मध्यरातिपछि स्थिर समय (मौन अवधि) सुरु हुने भएकोले राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न नपाउनुको साथै सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री प्रकाशन र प्रशारण गर्न पाउदैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !