८ बैशाख २०८१, शनिबार

आक्रामक बन्दै गण्डकीका मुख्यमन्त्री, भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त


कुमार खड्का

पोखरा । आसन्न निर्वाचनको मुखैमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आक्रामक बन्दै गएका छन् । यसै क्रममा उनले आज गण्डकीका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् ।

कांग्रेसकै सांसद समेत रहेका मन्त्री खड्कालाई मुख्यमन्त्री पोखरेलले गठबन्धनलाई असहयोग गरेको भन्दै बर्खास्त गरेका हुन् । गठबन्धनको चुनावी प्रचारमा नहिँडेको, गठबन्धनविरुद्ध अभिव्यक्ति दिएको र गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्दै मुख्यमन्त्री पोखरेलले खड्कालाई बर्खास्त गरेको स्रोतले जनाएको छ ।

खड्का गत २०७८ साउन ८ गते मन्त्री भएका थिए । मुख्यमन्त्री पोखरेलले खड्कालाई हटाएको जानकारी प्रदेश प्रमुखको कार्यालयलाई पत्राचारमार्फत गराएपछि प्रदेश प्रमुखको कार्यालयले सार्वजनिक गरेको सूचनामा भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै सम्हाल्ने गरी जिम्मेवारी हेरफेर गरिएको सूचना सार्वजनिक गरेको छ ।

यसअघि पनि गठबन्धनविरुद्ध भोट मागेको भन्दै गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री पोखरेलले बर्खास्त गरी उक्त मन्त्रालय पनि आफैंले सम्हाल्दै आएका छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनलाई असहयोग गरेको आरोपमा दुवै मन्त्रीहरुलाई हटाइएको हो ।

यो पनि पढ्नुहोस्

गण्डकी सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर

गठबन्धनविरुद्ध भोट मागेको भन्दै गण्डकीका मन्त्री आचार्य बर्खास्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !