१३ बैशाख २०८१, बिहिबार

चुनावपछि गठबन्धनले सरकार बनाउँछ, देउवा नै प्रधानमन्त्री हुन्छन् : प्रवक्ता डा. महत


डा. प्रकाशशरण महत

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनले जित्ने दाबी गर्दै चुनावपछि गठबन्धनले सरकार बनाउने ठोकुवा गरेका छन् ।

आज सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले निर्वाचनपछि सरकारको नेतृत्व स्वभाविक रूपमा कांग्रेसले गर्ने स्पष्ट गर्दै काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा नै फेरि प्रधानमन्त्री हुने बताएका हुन् ।

उनले निर्वाचनपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत दावी गरेका हुन् । उनले गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि देउवाले सरकारको नेतृत्व लिने विषयमा सकरात्मक रहेको खुलासा समेत गरे ।

प्रवक्ता महतले आसन्न निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार जिताउन आह्वान गरेका छन् । मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रद्रेशसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन पार्टी नेता कार्यकर्ताहरूलाई आह्वान गरेका हुन् ।

उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका समानुपातिकतर्फ रुख चिह्न र प्रत्यक्षमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सिंगो पार्टी पंक्ति लाग्न आह्वान गरेका हुन् । यद्यपि उनले काँग्रेसले समानुपातिकतर्फको मत आफ्नो पार्टीलाई माग्ने पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !