१३ बैशाख २०८१, बिहिबार

नजिकिँदै निर्वाचन : शीर्ष नेता सुदूरपश्चिम आउने क्रम सुरु


देउवा र ओली हेलिकप्टर प्रयोग

महेन्द्रनगर । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिममा प्रमुख राजनीतिक दलका शीर्ष नेता आउने क्रम सुरु भएको छ । आफ्ना पार्टी एवं गठबन्धनका उम्मेदवार जिताउन चुनावीसभामा सहभागी हुन नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेतृत्व सुदूरपश्चिम प्रदेशमा आएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा हुने चुनावी कार्यक्रममा सहभागी हुन बुधबार धनगढी पुगे । सत्ता गठबन्धनबाट डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका देउवाले आज डडेल्धुरा सदरमुकाम खलङ्गा बसपार्कमा हुने चुनावी सभामा सहभागी हुने कार्यक्रम छ । देउवा डडेल्धुराका आधा दर्जनभन्दा बढी स्थानमा चुनावी सभामा सहभागी भएर मत माग्ने र यही कात्तिक २० गते काठमाडौँं फर्किने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।

विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आउनुआएका देउवालाई आसन्न निर्वाचनमा नेपाली कांग्रेस (बिपी)बाट कर्णबहादुर मल्ल, जनता समाजवादी पार्टीबाट श्याम सिनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार विक्रम शाही र सागर ढकाललगायत छन् ।

नेकपा (माओवादी केन्द्र)को गतिलो साथ पाएका देउवालाई अन्य उम्मेदवारले निर्वाचन हराउन मुस्किल पर्ने आकलन गरिएको छ । सुदूरपश्चिममा सत्ता गठबन्धनले यहाँ नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले सिट बाँडफाँड गरेको छ ।

सोह« प्रतिनिधिसभा रहेको सुदूरपश्चिममा नेपाली कांग्रेसले नौ सिटमा सत्ता गठबन्धनबाट उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले चार र एकीकृत समाजवादीले तीन प्रतिनिधिसभा सिट बाँडफाँड गरेको छ ।

त्यसैगरी चुनावी सभामा सम्बोधन गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा सुदूरपश्चिम आउने कार्यक्रम तय भएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटिका सह–इन्चार्ज राजेन्द्रसिंह रावलले शुक्रबार दार्चुलाबाट अध्यक्ष ओलीको चुनावी अभियान सुरु हुने बताए । उनले शुक्रबार दार्चुला, बैतडी र कञ्चनपुरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !