८ बैशाख २०८१, शनिबार

कमरेड ओलीको धार्मिक आस्था : चुनावी अभियानमा होमिनुअघि महादेव मन्दिरको दर्शन


ओलीद्वारा महादेव मन्दिरको दर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीको धार्मिक आस्था कहिलेकाहीं यस्तो रुपमा प्रकट हुन्छ की जसले राष्ट्रको ध्यान नै केन्द्रित गर्न बाध्य हुन्छ । यद्यपि कम्युनिष्ट पार्टीको अध्यक्ष भएर पनि ओलीको हिन्दू रूझान भने पुरानै भएको बताइन्छ ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन नजिकिंदै गर्दा ओलीले महादेव मन्दिरको दर्शनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । जवानीको जोसमा जतिसुकै चरम भौतिकवादी भएपनि जव बुढेसकाल लाग्छ मानिसले हरे राम हरे कृष्ण जप्न थाल्दछ ।

ईश्वरका नाममा शपथ समेत लिन समेत हिच्किच्याउने नेपाली कम्युनिष्ट प्रधानमन्त्रीहरुमा ओलीको धार्मिक रूझान दिनप्रतिदिन बढ्नु सकारात्मक कुरा हो । जे भएपनि आजको चरम भौतिकवादी यूगमा आफ्नो धर्म संस्कृतिप्रति आस्था हुनु भनेको आफ्ना सन्ततिलाई संस्कार सिकाउनु नै हो ।

कम्युनिष्ट भएर आफ्नो सनातन धार्मिक मान्यता अनुशरण गरेको भनेर उनका आलोचकले समय-समयमा ओलीलाई कटाक्ष पनि गर्ने गरेका छन् । यसअघि ओली प्रधानमन्त्री भएको बेला पनि पशुपतिनाथमा सुनको जलहरी राख्ने विषयमा विवाद भएको थियो ।

यसअघि पनि २०७९ साल श्रावण १६ गते सोमबार पूर्वप्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओली पशुपतिनाथको सन्ध्याकालीन आरतीमा सहभागी भएका थिए । बागमती गंगा आरती सेवा समितिको निमन्त्रणामा ओली पशुपतिनाथ पुगेका थिए ।

आज बिहान भने ओली चुनावी अभियानमा होमिनुअघि महादेव मन्दिरको दर्शन गरेका हुन् । नेता–कार्यकर्ता र सहयोगीसहित ओलीले त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन गरेका हुन् ।

मन्दिर दर्शनका क्रममा एमालेका तर्फबाट प्रतिनिधिसभातर्फ काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रहेका किरण पौडेल पनि उनको साथमा थिए । आजदेखि ओली काठमाडौंको भीमसेनगोलस्थित आनन्द इभेन्ट्समा चुनावी अभियानमा सरिक भएका छन् ।

यो पनि पढ्नुहोस्

ओलीको धार्मिक आस्था : पशुपतिनाथमा हुने आरतीमा सहभागी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !