१३ बैशाख २०८१, बिहिबार

परराष्ट्रमन्त्री खड्का र नयाँ अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेटवार्ता


डा. नारायण खड्का र डिन थम्पसन

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवारस्थित परराष्ट्र मन्त्रालय पुगेर अमेरिकी राजदूत थम्पसनले परराष्ट्रमन्त्री खड्कालाई भेटेका हुन् ।

उनले सामाजिक संजाल ट्वीटरमा लेख्दै आफूलाई स्वागत गरेकोमा परराष्ट्रमन्त्री खड्कालाई धन्यवाद दिंदै अमेरिका-नेपाल सम्बन्धलाई अगाडि बढाउन साझेदार हुन पाउँदा उत्साहित भएको पनि बताएका छन् ।

यस्तै परराष्ट्र मन्त्रालयले पनि नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत थम्पसन र परराष्ट्रमन्त्री खड्काबीच भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन आपसी हितका विविध विषयमा छलफल भएको जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थम्पसनबीच पनि आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर अमेरिकी राजदूत थम्पसनले प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।

यस्तै आजै राजदूत थम्पसनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच नयाँ अमेरिकी राजदूत थम्प्सनले राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

अमेरिकी राजदूत थम्पसन असोज २७ गते बिहीबार काठमाडौँ आइपुगेका थिए । यसअघिका राजदूत र्‍याण्डी बेरीको चार वर्षे कार्यकाल सकिएसँगै अमेरिकी सरकारले थम्पसनलाई नेपालको राजदूतको जिम्मेवारी प्रदान गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री देउवा र नयाँ अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

अमेरिकी राजदूत थम्प्सनद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !