७ बैशाख २०८१, शुक्रबार

राजु गुरुङको उम्मेदवारी खारेज भएसंगै विष्णु पौडेललाई सहज


विष्णु पौडेल र राजु गुरुङ

काठमाडौँ । सर्वोच्च अदालतले सत्ता गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्वर २ का उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको उम्मेदवारी खारेज गरेको छ । सर्वोच्चका न्यायाधीशहरु कुमार रेग्मी र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले गुरुङ उम्मेदवारी कायम गरिपाउ भनी माग गर्दै दायर गरेको रिट खारेज गरेको हो ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयले गुरुङ कालो सूचीमा परेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएपछि गुरुङले सर्वोच्चमा रिट दायर गरेका थिए । गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यलयले उम्मेदवारी खारेज गरिदिएको थियो । यस्तै गुरुङको उम्मेदवारी, फौजदारी मुद्दामा सजाय पाएको र तीन वर्ष नपुगेको आधारमा कारण देखाउदै बदर गरिएको थियो ।

यसअघि सर्वोच्चले गठबन्धन उम्मेदवार गुरुङको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै उम्मेदवारी खारेज नगर्न आदेश दिएको थियो । सर्वोच्चले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

गुरुङसँगै आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं २ मा नै उम्मेदवारी दिएका हाम्रो नेपाली पार्टीका उम्मेदवार डा. निकोलस भुसाल भनिने कमल भुसालको पनि उम्मेदवारी खारेज भएको छ । सरकारी सुविधा लिइरहेकै अवस्थामा उनी उम्मेदवार बनेका थिए । चिकित्साशास्त्र अध्ययन संस्थानमा सरकारी छात्रवृत्तिमा अध्ययनरत भुसाल चुनाव लड्न नपाउने भएका हुन् ।

सोही निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट भने उपाध्यक्ष विष्णु पौडेलको उम्मेदवारी दिएका छन् । सर्वोच्चको यो आदेशसंगै रुपन्देही-२ मा सत्ता गठबन्धन उम्मेदवारविहीन हुने भएको छ ।

एमालेका पौडेलविरुद्ध गुरुङले उम्मेदवारी दिएका गुरुङ र भुसालको उम्मेदवारी खारेज भएसंगै पौडेललाई चुनाव जित्न सहज भएको छ । यसअघि २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा पनि पौडेल उक्त निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

२०७४ सालको निर्वाचनमा रुपन्देही-२ मा वाम गठवन्धनबाट उम्मेदवार पौडेल २२०६३ मतान्तरले विजयी भएका थिए । उनले ४४००९ मत ल्याएर विजयी भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठवन्धनका तर्फबाट नेपाली काँग्रेसका युवराज गिरीले २१९४६ मत ल्याएका थिए ।

पौडेलले गिरी भन्दा दोब्बर भन्दा बढी मत प्राप्त गरेका थिए । ‘भाग्यमानीको भुतै कमारो’ भनेझैँ २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका एमालेका पौडेल लगातार तेश्रो पटक सो क्षेत्रबाट (२०६४, २०७० र २०७४) निर्वाचित भएका थिए । उनीविरुद्ध उठेका दुई जनाको उम्मेदवारी खारेज भएसंगै यसपटक पनि विगतमा नेकपाको महासचिव समेत भइसकेका पौडेलको जित लगभग सुनिश्चित जस्तै भएको हो ।

यो पनि पढ्नुहोस्

राजु गुरुङको मुद्दा खारेज, अव उम्मेदवार हुने नपाउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !