८ बैशाख २०८१, शनिबार

अमेरिकी राजदूत थम्प्सनद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश


विद्यादेवी भण्डारी र डिन थम्पसन

काठमाडौँ । नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थम्पसनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच नयाँ अमेरिकी राजदूत थम्प्सनले राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

उनले सामाजिक संजाल ट्वीटरमा लेख्दै नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु गौरवको कुरा भएको बताएका छन् । उनले अमेरिका-नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्लो समयलाई उछिनेको सुनिश्चित गर्न नेपालका नेता र जनतासँग काम गर्न आफू तत्पर रहेको पनि जनाएका छन् ।

अमेरिकी राजदूत थम्पसन असोज २७ गते बिहीबार काठमाडौँ आइपुगेका थिए । अमेरिकी राजदूतावासले यसअघि केही दिनहरू राजदूत थम्प्सन, उनकी पत्नी जेनले नयाँ वातावरणमा अभ्यस्त हुन र नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा समय बिताउने बताएको जनाएको थियो ।

यसअघिका अमेरिकी राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएका एक हप्तापछि राजदूत थम्पसन नेपाल आइपुगेका थिए । राजदूत बेरी नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त भएसँगै आफ्नो चार वर्षे कार्यकाल पुरा गरेर स्वदेश फर्किएका थिए ।

विद्यादेवी भण्डारी र डिन थम्पसन

उनी अमेरिकी विदेश मन्त्रालयको वरिष्ठ कूटनीतिज्ञका रूपमा चिनिन्छन्  । यसअघिका राजदूत बेरीको कार्यकाल सकिएसँगै अमेरिकी सरकारले थम्पसनलाई नेपालको राजदूतको जिम्मेवारी प्रदान गरेको थियो ।

विदेश सेवामा लामो समयको अनुभव सँगालेका थम्पसन सन् २०२१ देखि अमेरिकाको विदेश मन्त्रालयस्थित दक्षिण तथा मध्य एसियाली मामिलाका लागि प्रमुख उपसहायक विदेशमन्त्रीका रूपमा कार्यरत थिए ।

उनले कार्यवाहक विदेशमन्त्रीको पद पनि सम्हालिसकेका छन् । आफ्नो कूटनीतिक सेवाका क्रममा भारत, रोमानिया लगायतका देशमा रहेर काम गरिसकेका थम्पसन अमेरिकी रक्षा मन्त्रालय मातहत रहेर दक्षिण कोरियाका लागि सुरक्षा सहायता सचिवका रूपमा अनुभव सँगालेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !