१२ बैशाख २०८१, बुधबार

कांग्रेसले भाडाका बुद्धिजीवी ल्याएर घोषणापत्र लेखायो : अध्यक्ष ओली


केपी शर्मा ओली

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो पार्टीको घोषणापत्र भाडाका बुद्धिजीवीलाई लेख्न लगाएको आरोप लगाएका छन् ।

झापाको धुलाबारीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काँग्रेसमाथि यस्तो आरोप लगाएका हुन् । आज झापा-१ स्थित धुलाबारीमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त कार्यकर्ता भेला भएको थियो ।

उनले यति लामो समय कांग्रेसले सरकारको नेतृत्व गर्दा कुनै समय राम्रो काम नगरेको पनि आरोप लगाएका छन् । उनले एमालेले वृद्धवृद्ध, किशोर किशोरी, युवा र अशक्तका लागि कयौँ काम गरेको दावी समेत गरेका छन् ।

उनले आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताए । निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको उनले बताए ।

झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने कार्य निर्वाचन आयोगले रोक्नुपर्ने उनको भनाइ थियो । साथै उनले प्रहरी प्रशासनलाई गैरकानूनी क्रियाकलाप रोक्न आग्रह गरे । उनले पार्टीका नेता तथा कार्यकर्तालाई कानूनको पूर्णपालना र आचारसंहिताको ख्याल गर्नका लागि अनुरोध गरे ।

निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । मङ्गलबार झापा आएका ओली आज बिहान १० बजेपछि नियमित कार्यक्रम तथा भेटघाटमा सहभागी भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !