११ बैशाख २०८१, मंगलबार

कांग्रेसले निर्वाचनका लागि सञ्चार केन्द्र स्थापना गर्ने


नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचार प्रसारको कार्यसम्पादन गर्न पार्टी केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने भएको छ ।

कांग्रेसको केन्द्रीय प्रचार प्रसार समितिको आज बसेको बैठकले केन्द्रीय कार्यालयमा सञ्चार केन्द्रका साथै प्रदेश, जिल्ला, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने निर्णय गरेको हो ।

बैठकले निर्वाचन क्षेत्रका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी प्रदेश, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहसम्मका प्रचार प्रसार समिति र पार्टी संयन्त्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।

समितिका संयोजक एवं पार्टी प्रवक्ता डा प्रकाश शरण महतको अध्यक्षतामा बसेको बैठकले पार्टीको निर्वाचन प्रचार प्रसारका लागि आवश्यक प्रचार सामग्री निर्माण गर्ने र विभिन्न सञ्चारमाध्यमहरु रेडियो, एफएम, टीभी, प्रिन्ट मिडिया, अनलाइन तथा सामाजिक सञ्जाललगायतबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने निर्णय गरेको छ ।

उक्त कार्यका लागि पार्टी सम्बद्ध भ्रातृ एवं शुभेच्छुक संस्था, विज्ञ बुद्धिजीवी, सञ्चारकर्मी, अन्य पेसागत संस्था र साथीहरूलाई अधिकतम संलग्न गराई सक्रिय गराउने तथा प्रचार सामग्री उत्पादन तथा प्रचार प्रसारका लागि विभिन्न उप–समितिहरु गठन गरिएको पार्टी कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !