६ बैशाख २०८१, बिहिबार

मधेशका मुख्यमन्त्री राउतले गरे काँग्रेसका मन्त्रीहरु बर्खास्त


रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्रप्रसाद सिंह

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारमा रहेका नेपाली काँग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री राउतले उनीहरुलाई फोन गरेर राजीनामा दिन आग्रह गरेपनि काँग्रेसका मन्त्रीहरुले राजीनामा नदिने अडान लिएपछि उनले बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री राउतले कांग्रेसबाट मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गरेका गरेका हुन् ।

मधेस प्रदेश प्रमुख कार्यालयका नि. सचीव एवं प्रवक्ता शत्रुघन यादवले आज दिउँसो एक विज्ञप्ति जारी गर्दै मधेस प्रदेश सरकारको मौजुदा मन्त्रिपरिषद्का ती तीन जना मन्त्रीहरुलाई मुख्यमन्त्री राउतले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरी सिफारिस गरेबमोजिम प्रदेश प्रमुख हरिशंकर मिश्रले उक्त मन्त्रालयहरुको कार्यभार मुख्यमन्त्री राउतले नै सम्हाल्ने गरी तोकेको जानकारी दिएका छन् ।

देउवा सरकारमा रहेका जसपाका मन्त्रीहरूलाई हटाएसँगै जसपाको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले पनि नेपाली कांग्रेसका मन्त्रीहरूलाई हटाएर जवाफी फायर गरेका हुन् । यसरी प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई हटाएपछि रुष्ट बनेको जसपाले पनि काँग्रेसका मन्त्रीहरुलाई पदमुक्त गरेकोले नेपालमा पुन: प्रतिसोधको राजनीति सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाबाट सरकारमा रहेका ४ जना मन्त्रीलाई बर्खास्त गरेपछि जसपाबाट मुख्यमन्त्री बनेका राउतले पनि काउन्टर बदला लिएका हुन् । जसपाका मन्त्रीहरूलाई हटाएसँगै यसको साइड इफेक्ट मधेस प्रदेशमा देखिएको हो ।

प्रधानमन्त्री देउवाले जसपाबाट सरकारमा रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई हिजो हटाएका थिए ।

यद्यपि मुख्यमन्त्री राउतले मधेस प्रदेशमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का मन्त्रीहरूलाई भने तत्काल नहटाउने बताएका छन् । हाल मधेस प्रदेश सरकारमा माओवादीका दुई मन्त्री र एक राज्य मन्त्री, एकीकृत समाजवादीका एक मन्त्री र एक राज्यमन्त्री तथा नेपाली कांग्रेसका तीन जना मन्त्रीहरू छन् ।

एकीकृत समाजवादीबाट उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो र कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादव र राज्य मन्त्री नागेन्द्र राय यादव छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र राज्यमन्त्री रुवीकुमारी कर्ण रहेका छन् ।

यस्तो छ हेर्नुस् मधेस प्रदेश प्रमुख कार्यालयले निकालेको विज्ञप्ति

काँग्रेसका मन्त्रीहरु बर्खास्त

यो पनि पढ्नुहोस्

मधेशका मुख्यमन्त्रीद्वारा काँग्रेसका मन्त्रीलाई राजीनामा दिन आग्रह, नभए बर्खास्त गर्ने

जवाफी फायरको तयारीमा जसपा : मधेश सरकारबाट कांग्रेस र माओवादीका मन्त्री हटाइँदै

प्रधानमन्त्री देउवाद्वारा जसपाका चार मन्त्रीहरु बर्खास्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !