११ बैशाख २०८१, मंगलबार

अग्नि सापकोटाले सिन्धुपाल्चोकमा आफ्नो बिरासत बुझाए भातिजलाई


अग्नि सापकोटा र माधव सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सभामुख पदबाट बिदा लिँदै आज एक पत्रकार सम्मेलन आयोजना गरेर सापकोटाले चुनाव नलड्ने घोषणा गरेका हुन् ।

मनोनयन दर्ताको अघिल्लो दिन सभामुख सापकोटाले उम्मेदवारी नदिने घोषणाा गरेका हुन् । उनले २०७९ साल मंसिर ४ मा हुने चुनावमा आफू उमेदवार नबन्ने स्पष्ट पारेका हुन् ।

२०६४ र २०७० सालमा संविधानसभा सदस्य रहेका सापकोटाले २०७४ मा सिन्धुपाल्चोक-२ बाट चुनाव जितेका थिए । आगामी निर्वाचनमा पनि उक्त निर्वाचन क्षेत्रमा आकांक्षी भएपनि सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार सो क्षेत्र कांग्रेसको भागमा परेको छ ।

यद्यपि सिन्धुपाल्चोक क्षेत्र नम्वर १ भने माओवादीको भागमा परेको छ । सिन्धुपाल्चोक-१ मा माओवादीबाट उनका भतिज पर्ने माधव सापकोटा उम्मेदवार बन्ने भएका छन् । यसरी संसदीय भूमिकाबाट अलग भएका सापकोटाले सिन्धुपाल्चोकमा आफ्नो बिरासत भातिजलाई बुझाएका हुन् ।

सत्ता गठबन्धनले शुक्रबार सिन्धुपाल्चोकका दुई क्षेत्रमा १ माओवादी केन्द्र र २ नेपाली कांग्रेसलाई दिने सहमति गरेको थियो । सभामुख सापकोटाका नाताले भतिजा रहेका माधवलाई माओवादीले क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने टुंगो लागेको थियो । उनलाई उम्मेदवार बनाउन अग्नी समेत सकरात्मक बनेका थिए ।

उनले आगामी दिनमा संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील रहेको प्रतिबद्धता पनि जनाएका छन् । उनले आफू देश र जनताका पक्षमा अझ धेरै सक्रिय भएर काम गर्ने बताएका सापकोटाले सञ्चार माध्यमसँग अझ नजिक भएर काम गर्नसक्ने बताएका थिए ।

उनले न्यायपालिका प्रमुखको भूमिकापछि अन्य जिम्मेवारीमा नजाने व्यवस्था जस्तै व्यवस्थापिकाको प्रमुख पनि उच्चतम जिम्मेवारी भएको भन्दै नेकपा (माओवादी केन्द्र) का नेतासमेत रहेका सापकोटाले आफू पुनः जनप्रतिनिधिका लागि चुनाव नलड्ने बताएका हुन् ।

सापकोटा २०६८ मा सूचना तथा सञ्चार र २०७२ सालमा भू-संरक्षण मन्त्री समेत बनेका थिए । माओवादीका अर्का नेता कृष्णबहादुर महरालाई सभामुख भएकै बेला बलात्कारको आरोप लागेपछि उनले राजीनामा दिएपछि सापकोटाले सभामुख भएका थिए । सापकोटा २०७६ माघ १२ गते सभामुख निर्वाचित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !