८ बैशाख २०८१, शनिबार

बालुवाटारमा गठबन्धनको बैठक जारी, जसपा अनुपस्थित


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौँ । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) भने अनुपस्थित रहेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटलाई टुङ्गो लगाउन आज शुक्रबार बिहानदेखि गठबन्धन दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

गठबन्धनमा सिट बाँडफाँटमा चित्त नबुझेपछि जसपाले गठबन्धन छाडेर एमालेसँगको छलफल अगाडि बढाएको छ । हिजो बिहीबार गठबन्धनको बैठक चलिरहँदा जसपा अध्यक्ष उपेन्द्र यादव बालकोट पुगेर ओलीसँग छलफल गरेका थिए ।

गठबन्धनमा २४ क्षेत्र दाबी गरेकोमा १६ भन्दा बढी नपाउने देखिएपछि जसपा अहिले एमालेसँग छलफलमा जुटेको छ । हिजो राति एमाले नेता रघुवीर महासेठको निवासमा एमाले र जसपाबीच चुनावी तालमेलको विषयमा भएको छलफल निष्कर्ष नजिक पुगेको ती नेताले बताए ।

एमालेले जसपालाई संघमा २० र प्रदेशमा ४४ क्षेत्र दिन एमाले तयार भएको छ । विशेष स्रोतका अनुसार २२ सिटमा एमाले र जसपाबीच सहमति भएको छ । आजै अबेरसम्म दुई दलबीच तालमेल टुंगिने बताइरहेको छ ।

गठबन्धनबाट जसपा बाहिरिएपछि प्रधानमन्त्री शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्ट रहेका उपेन्द्र यादवलाई गठबन्धनमा फर्काउने प्रयास जारी राखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !