४ बैशाख २०८१, मंगलबार

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने बाबुरामको घोषणा


डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । पूर्वप्रधानमन्त्री डा. भट्टराईले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक संजाल फेसबुकमा लेख्दै आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा चुनाव नलड्ने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाॅहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’

उनले २०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर जनताहरूको सेवा गर्ने अवसर दिएकोमा सम्पूर्ण गोरखाली बुबा-आमा, दिदीबहिनी, दाजूभाइहरूमा अन्तःहृदयैदेखि आभार ब्यक्त गरेका छन् ।

उनले आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका र केही शुरू भएका आयोजना पूरा हुन बाँकी रहेको पनि बताएका छन् ।उनले बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन आफू संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहने बताएका छन् ।

यस्तो छ हेर्नुहोस् बाबुरामको फेसबुक स्टाट्स जस्ताको त्यस्तै

प्रिय गोरखा,
२०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार ब्यक्त गर्दछु ।

आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाॅहरू सबैलाई विनम्र जानकारी गराउन चाह ।

मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बाॅकी छन्। बॅकीरहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु ।

२०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउनेजाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखें र तपाईंहरूबाट धेरै सिक्ने अवसर पएॅ। आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु ।

चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन । तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।

म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहॅा साथमा हुनेछु ।

आसन्न वडादशै,तिहार,नेपाल सम्वत् नयाॅ वर्ष लगायतका सबै पर्वहरूमा हार्दिक शुभकामना !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !