१३ बैशाख २०८१, बिहिबार

सिट बाँडफाँडका लागि सत्ता गठबन्धनको बैठक आज पनि बस्दै


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजे सिट बाँडफाँडका लागि सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको हो ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा सहमति जुटाउन बैठक बस्न लागेको हो । हिजो शुक्रबार दिनभरजसो छलफल भए पनि सहमति जुटेको थिएन ।

हिजोको बैठकमा गठबन्धनका सबै दलले आफ्नो अडान नछोडेपछि पार्टीभित्र छलफल गर्ने र अझै केही दिन बैठक निरन्तर बस्ने सहमति गरेर नेताहरू उठेका थिए ।

गठबन्धनका पाँच दलबीच १०० सीटको एकल दाबी सहमति जुटेपनि बाँकी ६५ सीटमा भने दुई वा दुईभन्दा बढी दलले दाबी गरेपछि सहमति जुटाउन हिजो दुई पक्षीय र त्रिपक्षीय छलफल भएको थियो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सीट रहेकोमा गठबन्धनमा कांग्रेसले १०० सिट, नेकपा (माओवादी केन्द्र) ले ६० सिट, नेकपा (एकीकृत समाजवादी) ले ४० सिट, जनता समाजवादी पार्टी (जसपा) ले ३२ सिट र राष्ट्रिय जनमोर्चाले दुई सीटमा दाबी गर्दै आएका छन् ।

आज बस्ने बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत नेता सहभागी हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !