७ बैशाख २०८१, शुक्रबार

ओलीको दावी : एमालेले निर्वाचनमा गठबन्धनलाई त्रिशुलीको भेलमा बगाइदिन्छ


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सत्ता गठबन्धनका दलहरुलाई आगामी निर्वाचनमा त्रिशुलीको भेलमा बगाइदिने दावी गरेका छन् ।

एमाले निकट राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय प्रचार भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका दलहरुलाई आगामी मंसिर ४ गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशुलीको भेलले बगाएजसरी बगाउने निश्चित भएपछि उनीहरुले गठबन्धनको त्यान्द्रो समाउनु परेको आरोप लगाए ।

ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरु गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन् । उनले अनेकथरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दाबी गर्दै ओलीले एमालेको लहर देखेर गठबन्धन थरर काम्ने गरेको बताए ।

ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !