७ बैशाख २०८१, शुक्रबार

रामचन्द्र पौडेल भन्छन्- राष्ट्रपतिबाट लोकतान्त्रिक प्रणाली नै खतरामा पर्यो


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट लोकतान्त्रिक प्रणाली नै खतरामा परेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि नेता पौडेलको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

सामाजिक संजाल ट्वीटरमा आज लेख्दै नेता पौडेलले जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संबैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन् ।

उनले बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संबैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार भएको भन्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने कदमको भर्त्सना गरेका छन् ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । राष्ट्रपति भण्डारीले हिजो मध्यरात १२ बजेसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेकोले यो विधेयक स्वतः निष्क्रिय भएको छ ।

उनले लेखेका छन्, ‘जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संबैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणालीनै खतरामा पार्ने काम भएको छ। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संबैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !