२३ आश्विन २०८१, बुधबार

आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै


संविधान

काठमाडौँ । आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाइँदैछ ।

विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेको र उहाँले उक्त संविधानको प्रतिलाई जनताको नासो सम्झिएर ढोगेको क्षण नेपालीका लागि ऐतिहासिक रहिरहेको छ ।

जनताका प्रतिनिधिद्वारा निर्माण गरी संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधानका रुपमा रहेको ख्याख्या र विश्लेषण गरिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्ष, समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरेको छ ।

जनताको हितका खातिर संविधानमा मौलिक हकका रुपमा अनेकौँ प्रावधान राखिएको छ । नेपालको संविधानले मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तहको राज्यसमयन्त्र सुनिश्चिता गरेको छ । निर्वाचनका माध्यमद्वारा तीन तहका सरकार कार्यान्वयनमा गएसँगै जनताले सिंहदरबारको अधिकार घरदैलोबाटै प्राप्त गरेको अनुभूति गरिरहेका छन् ।

यद्यपि मुलुकमा दलबीचका सत्तास्वार्थका कारण यसपटक संविधान दिवस मनाइरहँदा सार्वभौम सम्पन्न जनताको प्रतिनिधिमूलक संस्था संसद् भने अवरोधको स्थितिमा छ । नेकपा एमालेभित्रको आन्तरिक घर झगडा र विवादले मुलुकमा नयाँ सरकार गठन गर्न पर्ने स्थिति निम्त्याएको हो ।

उक्त घटनाक्रमले सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्धलाई तिक्ततापूर्ण बनाएको हो । प्रमुख राजनीतिक दलभित्र देखिएको सत्ता सङ्घर्ष जोडिएर आएका निर्णय र प्रकट भएका विचारले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको ओज घटनाएको गुनासा सुनिएको छ ।

संविधानको भावनाविपरीत राजनीतिक दल विभाजनका खेलतर्फ पुनःउन्मुख भएको घटनाले जनतालाई दुःखित तुल्याएको छ । लोकतन्त्र स्थापनाको ठूलो सङ्घर्ष गरी योगदान पुर्याएका राजनीतिक नेतृत्वलाई संविधान दिवसले मुलुक र जनताका पक्षमा ठिक निर्णय गर्दै अघि बढ्न संविधान दिवसले प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।

आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !