७ बैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभामा न्याय परिषद् र न्याय सेवा आयोगको बार्षिक प्रतिवेदन पेश


प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधि सभाको आजको पहिलो बैठकमा ‘न्याय परिषद् र न्याय सेवा आयोगको बार्षिक प्रतिवेदन’ पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाईंमन्त्री पम्फा भुसालले ‘न्याय परिषद् र न्याय सेवा आयोगको बार्षिक प्रतिवेदन आ.ब.२०७७/०७८’ पेश गरेकी हुन् ।

पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मा एक कार्यक्रममा भाग लिन यही भाद्र २६ गते दक्षिण कोरिया गएकाले उनको अनुपस्थितीमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई अर्थ मन्त्रालयको समेत कार्यभार तोकिएको सम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए ।

बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पत्ति भएका बिधेयकहरु क्रमशः ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९’, ‘बीमा विधेयक, २०७९’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशलाई टेबुल गरेका थिए ।

प्रतिनिधि सभाको आजको पहिलो बैठकको शुरुमा सांसदहरुले समय मागेर बोल्दै समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

बैठकको शुरुमै समय मागेर बोल्दै नेकपा(माओवादी केन्द्र)की सांसद कमला रोकाले रुकुम पूर्वको ८२८ मेगावाट विद्युत क्षमताको उत्तरगंगा जलाशययुक्त आयोजनाबाट बग्ने पानीलाई साविककै दिशाबाट बग्ने गरी व्यवस्था मिलाउन माग गरेकी थिइन् ।

उनले ढोरपाटन आरक्षण क्षेत्रमा रुकुम पूर्वको ६५ प्रतिशत भूभाग पर्ने बताउँदै संविधानले जल, जंगल र जमिनमा स्थानीय जनताको अधिकार हुने भने पनि आरक्षण क्षेत्रमा नेपाली सेनाले त्यो कानून मिच्दै स्थानीय जनतालाई बारम्बार सताउने गरेको भन्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

समय मागेर बोल्दै सांसदरु डा.डिला संग्रौला पन्थ, नारायण मरासीनी, प्रेम सुवाल, खेमप्रसाद लोहनी र गजेन्द्रबहादुर महतले समेत समसामयिक बिषयमा सदन तथा सरकारको ध्यानाकर्षण गराएका थिए ।

आजको बैठकमा सांंसदहरुले शुन्य समयमा समेत बोलेका थिए । प्रतिनिधि सभाको पहिलो बैठक आधा घण्टाको लागि स्थगित गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !