१३ बैशाख २०८१, बिहिबार

पार्टीले बहुमत ल्याउनेगरी दत्तचित्त भएर चुनावमा जान सांसदलाई ओलीको निर्देशन


एमालेको संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरुलाई नयाँ उत्साहका साथ पार्टीले बहुमत प्राप्त गर्ने गरी दत्तचित्त भएर आगामी चुनावमा जान निर्देशन दिएका छन् ।

नयाँ वानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्दै संसद्को यस अवधिको समीक्षा गर्दै आफ्ना पार्टीका सांसदहरुलाई धन्यवाद दिनुका साथै आगामी निर्वाचनको तयारीका लागि जिल्ला र क्षेत्रमा केन्द्रित हुने निर्देशन दिएका हुन् ।

बैठकपछि एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा वर्तमान गठबन्धन सरकारको धारणा किंकर्तव्य बिमुढ जस्तो देखिए पनि एमालेको भने समानुपातिक सांसदहरुको बन्द सूची पेश गर्नुभन्दा अघिल्लो दिन देखि नै संसदको कार्यकाल सकिन्छ भन्नेमा स्पष्ट धारणा भएको बताए ।

बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा अ‍ोलीले सरकारमा रहँदा र सरकार बाहिर रहँदाको अवस्थामा सांसदहरुले खेलेको भूमिकाप्रति धन्यवाद दिंदै सांसदहरुलाई बिदाई गरेको पनि सांसद भट्टराईले जानकारी दिए ।

सांसदहरुको पदावधि सकिनु पूर्वसन्ध्यामा एमालेले संसदीय दलको बैठक बोलाएर आफ्ना सांसदहरुलाई बिदाइ गरेको हो । अहिले प्रतिनिधि सभाको बैठक पनि जारी रहेको छ । आजको प्रतिनिधि सभाको बैठकमा एमालेले आफ्नो पार्टीको तर्फबाट आधिकारिक धारणा पनि राख्ने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !