१२ बैशाख २०८१, बुधबार

प्रचण्डलाई पार्टी एकताका लागि अँगालो हाले, ग्वाम्म छुरा रोपे : ओली


केपी शर्मा ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अँगालो हाल्दा प्रचण्डलाई आफूलाई ग्वाम्म छुरा रोपेको भनेर टिप्पणी गरेका छन् ।

राजधानीमा आज आयोजित एमाले पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूले देश बनाउने उद्देश्यले लिएर गरेको पार्टी एकतामा प्रचण्डले घात गरेर ठूलो धोका दिएको आरोप लगाएका हुन् ।

प्रचण्डको गृहजिल्ला चितवनका माओवादी केन्द्रीय सदस्य यमबहादुर परियारलगायतलाई पार्टी प्रवेश गराउँदै ओलीले प्रचण्डले आफूलाई पार्टीबाट निष्कासन गरेको प्रसंग सुनाएका हुन् ।

“मैले प्रचण्डलाई आउनुस मित्र एकीकृत पार्टी बनाऔंँ, बलियो वामपन्थी पार्टी बनाऔँ, एकताबद्ध भएर अघि बढाऔँ भनेर प्रचण्डलाई अध्यक्ष बनाएर मेरो छेउमा ल्याएर राखेको थिएँ मानसम्मानका साथ मेरो छेउमा,” उनले भने, “मैले अँगालो हालेको थिएँ प्रचण्डलाई, हात मिलाएको मात्रै होइन । तर, प्रचण्डले हात लुकाइलुकाइ हिँड्थे । म सचेत त थिएँ । नभन्दै मैले अँगालो हालेँ, प्रचण्डले ग्वाम्म छुरी रोपे ।”

आफूले नेकपाको एकता जोगाउन लाग्दा साधारण सदस्यबाट हटाइएको भन्दै ओलीले आन्दोलन धोका, छलबाट नहुने बताउदै अहिलेको माओवादी केन्द्र प्रचण्डको नेतृत्वमा सानो केन्द्रमात्र बाँकी रहेको दाबी गरे । ओलीले अदालतले पार्टीको नाममात्र जुध्यो भनेको भन्दै नेकपा विभाजन नभएको जिकिर पनि गरे ।

गुट मात्रै भएको दाबी गर्दै माओवादी केन्द्र एमालेमा नै मिसिइसकेको दावी गरे । ओलीले पार्टी नयाँ ढंगले अघि बढेको भन्दै माओवादी केन्द्र एमालेमा नै मिसिइसकेको दावी गर्दै अहिलेको एमाले प्रचण्ड गुटबाहेकको नेकपाकै निरन्तरता रहेको समेत जिकिर गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !