७ बैशाख २०८१, शुक्रबार

एमाले अध्यक्ष ओली र चिनियाँ सभामुख लीबीच भेटवार्ता


केपी शर्मा ओली र ली झान्सु

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालको भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष एवं सभामुख ली झान्सुबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओली नेतृत्वको प्रतिनिधिमण्डल र सभामुख ली नेतृत्वको प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको हो । नयाँ वानेश्वस्थित संघीय संसद भवनमा अध्यक्ष ओली लगायत एमाले नेताहरुसँग झान्सु नेतृत्वको प्रतिनिधि मण्डलवीच द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै नेताहरु अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, डा राजन भट्टराई, अन्जान शाक्यलगायत सहभागी भएका थिए ।

यसअघि लीले र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता गरेपछि सभामुख लीले अन्य नेपाली शीर्ष नेताहरुसँग भेटवार्तालाई निरन्तरता दिएका हुन् ।

अध्यक्ष ओलीलाई भेटेपछि लीले आज बिहानै १०:४५ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सभामुख झान्सुले संसद भवनमै भेट गर्ने कार्यक्रम रहेको छ । त्यसबीचमा केही समय संसद भवनमा अरु सांसदहरुसँग कुरा गर्नेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले आज अपराह्न शिष्टाचार भेटवार्ता गर्नेछन् । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि अध्यक्ष लीको आज भेटवार्ता हुनेछ ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौँ आइपुगेका हुन् । हिजै सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्ने चारदिने औपचारिक भ्रमणका क्रममा यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने छन् । चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

केपी शर्मा ओली र ली झान्सु केपी शर्मा ओली र ली झान्सु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !