१४ माघ २०७९, शनिबार

लोकतन्त्र र संघीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य छ : अध्यक्ष यादव


उपेन्द्र यादव

धनुषा । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताएका छन् । जनकपुरधाममा आज आयोजित पिछडा वर्ग महासङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सङ्घीयता र गणतन्त्र सङ्कटमा परेका बेला जसपाकै नेतृत्वमा गठबन्धन निर्माण भएको स्मरण गराए ।

अध्यक्ष यादवले आफूहरु गठबन्धनको पक्षमै रहेको भए पनि सङ्घीयता र गणतन्त्रका लागि ऐतिहासिक भूमिका निर्वाह गरेको जसपाको सिट बाँडफाँटमा सम्मानजनक तालमेल हुनुपर्नेमा जोड दिए । उनले गठबन्धन अपरिहार्य रहे पनि मधेसी, दलित, आदिवासी जनजातिको प्रतिनिधित्वमा ह्रास आउने गरी गठबन्धनको नाममा आँखा चिम्लेर कुनै आत्मघाती कदम चाल्न तयार नरहेको स्पष्ट पारे ।

मधेसको शक्तिलाई कमजोर आँकलन नगर्न आग्रह गर्दै अध्यक्ष यादवले मधेसको शक्तिले सम्मानजनक स्थान पाएमात्र गठबन्धन बलियो हुने धारणासमेत राखे । उनले सामाजिक विकृतिका रुपमा रहेका पिछडावर्ग माथिको अन्याय अन्तका लागि संवैधानिकरुपमै पहल गर्नुपर्ने उल्लेख गर्दै दलित र पिछडा वर्गको उन्नतिविना देशको समृद्धि कल्पनासमेत गर्न नसकिने बताए ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समाजको ठूलो हिस्सा रहेको पिछडा वर्गको उत्थानका लागि प्रदेश सरकार तत्पर रहेको उल्लेख गर्दै उनीहरुको सामाजिक उत्थानका लागि प्रदेश सरकारले बजेट विनियोजनसमेत गरेको बताए । उनले पिछडा वर्गको सूचीकरणलगायत कामका लागि छुट्टै समिति बनाउनु आवश्यक रहेको उल्लेख गर्दै ऐन बनाउन नसकिए पनि अध्यादेशबाटै समिति बनाउने प्रक्रियामा रहेको बताए ।

पिछडा वर्ग महासङ्घका अध्यक्ष भरत महतोको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा प्रदेशसभा सदस्य रामअशिष यादव, जसपा नेता बलराम महतोलगायतले सम्बोधन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !