४ बैशाख २०८१, मंगलबार

संविधान बचाउने जिम्मा राजनीतिक दलको काँधमा आएको छ : पूर्वराष्ट्रपति यादव


डा. रामवरण यादव

काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान बचाउने जिम्मा राजनीतिक दलको काँधमा आएको बताएका छन् । जननायक बिपी कोइरालाको १०९औँ जन्मजयन्तीका अवसरमा तेज–तीर्थ ट्रष्टले आज यहाँ आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’मा उनले संविधानमाथि आक्रमण हुन लागेको भन्दै यसलाई जोगाउन राजनीतिक दलको महत्वपूर्ण भूमिका रहेको बताए ।

“संविधानको रक्षा गर्ने प्रमुख जिम्मा कांग्रेससहितका राजनीतिक दलको हो, राजनीतिक दलबाट बनेको संविधानको रक्षा गर्ने काम पनि राजनीतिक दलकै हो”, उनले भने । देशको एकता, अखण्डता आवश्यकतालाई समेटेर समृद्ध मुलुक निर्माणमा सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति डा यादवले सङ्घ, प्रदेश र स्थानीय तहको कानून बन्न नसक्नु दुःखद् कुरा भएको बताए । उनले राष्ट्रियता, सार्वभौमिकता, भूगोललाई मिलाएर संविधान निर्माण भएको बताउँदै संविधानको रक्षाका लागि लाग्नुपर्ने बेला आएको उल्लेख गरे ।

संविधान निर्माणसँगै तीन तहको सरकार निर्माण हुनु सुखद पक्ष भए पनि जनतामा भ्रष्टाचार भएको र सुशासन नभएकामा असन्तुष्टि पैदा भएको बताए । पूर्वराष्ट्रपति डा. यादवले बिपी कोइराला देश र लोकतन्त्रका पक्षमा सधैँ चिन्तित हुने गरेको बताए । उनले पछिल्लो समय बिपी कोइरालाको जेल जर्नल, भाषण, आत्मावृत्तान्त कांग्रेसले पढ्न र बुझ्न नसकेको उल्लेख गरे ।

कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले प्रजातन्त्रलाई जनतामाँझ लैजान जननायक बिपी कोइरालाको महत्वपूर्ण योगदान रहेको बताए । सङ्घीय लोकतन्त्र स्थापना गर्न बिपी कोइरालाको योगदान महत्वपूर्ण रहेको उनको भनाइ थियो । नेता प्रधानले बिपी कोइरालाको योगदानका कारण देश सङ्घीय गणतन्त्र मुलुकमा निर्माण भएको बताए ।

विभिन्न विधामा पुरस्कार तथा सम्मान

नेपाली कांग्रेस काठमाडौँका पूर्वपार्टी सभापति एवं पूर्वराज्यमन्त्री तीर्थराम डङ्गोल र उनको धर्मपत्नी तेजमाया डङ्गोल नाममा स्थापित तेज–तीर्थ ट्रष्टले सामाजिक र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई सम्मान गरिएको छ ।

ट्रष्टले स्वतन्त्रता तथा शान्तिका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै वरिष्ठ पत्रकार एवं प्राध्यापक पुरुषोत्तम दाहाललाई सम्मान गरेको छ । पत्रकार दाहाललाई रु एक लाख नगद र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

यस्तै ट्रष्टले प्रजातन्त्र र शान्तिका क्षेत्रमा पत्रकारिता गर्ने वरिष्ठ पत्रकार कवीर राणा र युवा पत्रकार राधिका बुढाथोकीलाई सम्मान तथा पुरस्कार गरिएको छ । उहाँहरुलाई रु ५० हजारका दरले पुरस्कृत गरिएको हो ।

नेवारी साहित्यमा ख्याति प्राप्त एक महिला तथा एक पुरुष साहित्यकारलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उहाँहरुलाई पनि रु ५० हजार नगद र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !