१३ बैशाख २०८१, बिहिबार

प्रतिनिधि सभा बैठक बस्दै, मिडिया काउन्सिल विधेयक प्रस्तुत गर्ने


संसद बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । नयाँवानेश्वरस्थित संघीय संसदको भवनमा प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

संसद सचिवालयले सार्वजनिक गरेको दैनिक सम्भावित पहिलो कार्यसूचीअनुसार आजको बैठकमा सांसद भीम रावलले ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युत्को धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र सम्वर्द्धन गर्न आवश्यक भएकोले’ भन्ने जरुरी सार्वजनिक महत्त्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको ध्यानाकर्षण गराउने रहेको छ ।

उक्त ध्यानाकर्षणका सम्बन्धमा सांसदद्वय यज्ञबहादुर बोगटी र राजबहादुर बुढाक्षेत्रीले स्पष्टीकरण माग गर्ने पनि रहेको छ ।

यस्तै दैनिक सम्भावित दोस्रो कार्यसूचीअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै संसद सचिवालयका अनुसार दैनिक सम्भावित तेस्रो कार्यसूचीअनुसार आजको बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने रहेको छ ।

साथै दैनिक सम्भावित चौथो कार्यसूचीअनुसार आजको बैठकमा मन्त्री सञ्चारमन्त्री कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यद्यपि उक्त विधेयकको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाउँदै आएको छ ।

यस्तो छ आजको प्रतिनिधिसभाको सम्भावित कार्यसूची

सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !