१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्ष पाण्डेबीच भेट, अग्निपथबारे भएन छलफल


शेरबहादुर देउवा र मनोज पाण्डे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सेनाध्यक्ष मनोज पाण्डेबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र भारतीय स्थल सेनाध्यक्ष पाण्डेबीच आज शिष्टाचार भेट भएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सैन्य सम्बन्धका बारेमा छलफल भएपनि भारतीय सेनाले अघि सारेको अग्निपथ योजनाबारे कुनै छलफल नभएको बुझिएको छ । यद्यपि रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री देउवाले भारतीय सेनाध्यक्ष पाण्डे नेपाल आएको बेला अग्निपथ योजनाबारे कुरा हुनसक्ने अपेक्षा गरिएको थियो ।

‘अग्निपथ योजना ’ अन्तर्गत १७ देखि २३ वर्ष उमेर समूहका युवालाई चार वर्षका लागि भर्ना गरिने बताइएको छ । चार वर्ष सेवा गरेपछि फेरि बेरोजगार हुने र यसबाट भविष्य बिग्रिने भन्दै यो योजनाको भारतमै विरोध हुँदै आएको छ । यसअघि नेपाल सरकारले भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न भारतलाई आग्रह गरेको थियो ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई भदौं ८ गते बुधबार मन्त्रालयमा बोलाएर नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न भनेका थिए । भारतमै विवादित बनेको अग्निपथ योजनाबारे नेपालका सबै दलको एकीकृत धारणा बनाउन बाँकी रहेको भन्दै मन्त्री खड्काले त्यतिन्जेल भर्ती रोक्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवाले भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोगको प्रशंसा गर्दै दुई देशबीचको सहकार्य जारी रहने विश्वास व्यक्त गरेका छन् । यस्तै भारतका सेनाध्यक्ष पाण्डेले नेपालसँग लामो समय सहकार्य भएको भन्दै खुसी व्यक्त गरेको बताइएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा सेनाध्यक्ष पाण्डे आएका हुन् । नेपाल भ्रमण सकेर उनी बिहीबार अपराह्न स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस्

अग्निपथ योजनामा नेपाली युवा भर्ती नगर्न भारतसँग परराष्ट्रमन्त्रीको आग्रह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !