८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्ष पाण्डेबीच आज शिष्टाचार भेट हुँदै


मनोज पाण्डे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सेनाध्यक्ष मनोज पाण्डेबीच आज भेटवार्ता हुँदै छ । प्रधानमन्त्री देउवा र भारतीय स्थल सेनाध्यक्ष पाण्डेबीच आज अपराह्न ३ बजे शिष्टाचार भेट हुने भएको हो ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष पाण्डेको सम्मानमा हिजो सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको थियो ।

हिजो प्रधानसेनापति शर्मा र भारतीय सेनाअध्यक्ष पाण्डेबीच सेनाको मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको थियो । हिजै सोमबार टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहबीच भारतीय सेनाध्यक्ष जनरल पाण्डेले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई सैन्य सामग्री हस्तान्तरण गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शितल निवासमा हिजो आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी थिइन् ।

पाण्डेले प्रधानमन्त्री देउवालाई भेट्नुअघि आज बिहान माउन्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ । उनले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ ।

आज मंगलबार साँझ नै उनले काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम पनि रहेको छ । आज साँझ लैनचौरस्थित भारतीय दूतावासमा रात्रिभोजको कार्यक्रममा उनी सरिक हुनेछन् ।

यदि बुधबार मौसम अनुकूल भए उनी मुक्तिनाथ मन्दिर दर्शनका लागि जाने छन् । त्यही क्रममा उनी नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर पोखरामा पुग्नेछन् । सोही दिन वसन्तपुरस्थित हनुमानढोका जाने कार्यक्रम पनि तय भएको छ । नेपाल भ्रमण सकेर उनी बिहीबार अपराह्न स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !