१२ बैशाख २०८१, बुधबार

जलवायु संकटकाल घोषणा गरेर विश्वको ध्यानाकर्षण गराउछौँ : वातावरणमन्त्री यादव


प्रदीप यादव

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान तान्ने तयारी भइरहेको बताएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री यादवले जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले नेपाललाई जलवायु सङ्कटकाल घोषणा गर्ने गरी तयारी भइरहेको बताएका हुन् ।

उनले भने, “जलवायु परिवर्तनका असर सबैतिर देखिने गरी पर्न थालेको छ । नेपालका हिमाल, कृषि, पानीका स्रोतलगायतका क्षेत्रमा जलवायु परिवर्तनको असर परिरहेको छ । नेपालमा जलवायु सङ्टकालको घोषणा गरी विश्वको ध्यानाकर्षण गर्नुपर्ने बेला भएको छ । हामी यसको तयारीमा छौँ ।”

यसैगरी मन्त्री यादवले उक्त विषयमा सबै सरोकारवाला निकाय र विज्ञसँग छलफल गरेर नेपाल जलवायु सङ्कटमा पुगेको घोषणा गरिने जानकारी पनि दिए ।

उनले सङ्कटकाल घोषणाका लागि मन्त्रालयले यसको ‘मोडालिटी’ खोज्ने तयारी थालेको पनि बताए । उनले भने, “जलवायु सङ्कटकाल र जलवायु सङ्कट घोषणा गरिरहँदा तथ्यमा आधारित प्रमाण चाहिने भएकाले सोहीअनुसार हामी आगाडि बढिरहेका छौँ ।”

जलवायु परिवर्तन भइरहेको र यसका कारण उत्पन्न समस्या एवं असरका बारेमा सबै जानकार नै रहे पनि जलवायु सङ्कट तथा सङ्कटकाल घोषणा गर्न के कसरी मिल्छ भन्ने सम्बन्धमा अध्ययन भइरहेको उनको भनाइ थियो । उनले यसै विषयमा केन्द्रित रहेर मन्त्रालयले गृहकार्य थालेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !