१३ बैशाख २०८१, बिहिबार

अन्तत: प्रधानमन्त्री पत्नी डा. आरजु राणा कैलाली-५ बाट सिफारिस


डा. आरजु राणा देउवा

सुदूरपश्चिम । अन्तत: नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवा कैलाली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ बाट पार्टीको उम्मेदवार सिफारिस भएकी छन् । कांग्रेसको क्षेत्रीय कार्यसमितिको आज अपराह्न बसेको बैठकले डा. राणालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको क्षेत्रीय सभापति भीम पडालले जानकारी दिए ।

यो क्षेत्रबाट युवा नेता क्षितिज भण्डारी पनि आकांक्षी रहेकामा उनको पक्षमा कार्यसमितिमा सहमति बन्न नसकेको पडालले बताए । कांग्रेस नेत्री राणाले निर्वाचन क्षेत्र नं ५ बाट पाँच वर्षअघि भएको निर्वाचनमा समेत प्रतिनिधि सभासदस्य पदका लागि प्रतिस्पर्धा गरेकी थिइन् ।

तत्कालीन नेकपा (एमाले) का प्रत्यासी नारदमुनी रानासँग उनी झण्डै पाँच हजार मतान्तरले पराजित भएकी थिइन् । राना नेकपा (एमाले)को तर्फबाट आउने निर्वाचनमा पनि उम्मेदवार हुने सो पार्टीका युवा नेता चूडामणि भट्टले बताए ।

निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनमा कमलबहादुर शाह, मोहनसिं राठौर, हेमबहादुर रावल, धर्मराज न्यौपाने, टीका चौधरीसहित सात जनालाई सिफारिस गरिएको प्रदेश कार्यसमिति सभापति भीम जैशीले बताए । यो क्षेत्रबाट एमालेका सूर्यबहादुर थापा, कमला ओली र झपट रावलमध्ये एक जनाले टिकट पाउने जनाइएको छ ।

यसअघिको निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन नेकपा (एमाले) का प्रत्यासी झपट रावलले कांग्रेसका प्रत्यासी मोहनसिंह राठौरलाई झण्डै दुई हजार मतान्तरले पराजित गरेका थिए ।

यस्तै कैलालीको निर्वाचन क्षेत्र नं ४ बाट कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, पूर्वकेन्द्रीय सदस्य नेता सुनिलकुमार भण्डारी, कांग्रेसका पूर्वजिल्ला उपसभापति प्रकाश बम, डा लक्ष्मीराज पाठक, टेकराज जोशीलगायतलाई सिफारिस गरिएको छ ।

यसअघिको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रत्यासी लेखराज भट्टले कांग्रेसका प्रत्यासी सुनिलकुमार भण्डारीलाई झण्डै नौ हजार मतान्तरले पराजित गरेका थिए । भट्ट नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !