७ बैशाख २०८१, शुक्रबार

विधायन समितिबाट हुबहु पारित भएको नागरिकता विधेयक राष्ट्रियसभामा पेस


राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिबाट हुबहु पारित भएको नागरिकता विधेयक पेस भएको छ । विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस भएको हो ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा समितिका जेष्ठ सदस्य नारायणदत्त मिश्रले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नागरिकता विधेयक सम्बन्धी प्रतिवेदन पेस गरेका हुन् ।

बुधबार बसेको विधायन समितिको विधेयकमा बहुमतले कुनै संशोधनबिना नागरिकता विधेयक पारित गरेको थियो । प्रतिनिधिसभाले जस्ताको त्यस्तै पास गरेको नागरिकता विधेयक व्यवस्थापन समितिबाट पनि हुबहु पारित भएको थियो ।

राष्ट्रिय सभाको आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापति देबेन्द्र दाहालले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको वार्षिक प्रतिवेदन, २०७६’ र ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको एकीकृत प्रतिवेदन, २०७९’ पेश गरेका छन् ।

यस्तै राष्ट्रियसभाको आजको बैठकले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ लाई स्वीकृत गरेको छ । उक्त विधेयक उपर बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नहरुको कृषिमन्त्री यादवले जवाफ दिए पछि उक्त विधेयकलाई बैठकको सर्वसम्मतीले स्वीकृत गरेको हो ।

राष्ट्रिय सभाको आजको बैठकको शुरुमा सांसदहरुले शुन्य समयमा बोल्दै समसामयिक विषयमा सभाध्यक्ष मार्फत सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए । शुन्य समयमा सांसदहरु तुलप्रसाद विश्वकर्मा, उर्मिला अर्याल, नारायण दत्त मिश्र, भूवनबहादुर सुनार, मदनकुमारी साह गरिमा, मोहम्मद खालिद, सुरेशकुमार आलेमगर, राजेन्द्रलक्ष्मी गैरे लगायतले बोलेका थिए ।

राष्ट्रियसभाले पनि आज नै विधेयक पारित गर्ने तयारी रहेको बुझिएको छ । राष्ट्रिय सभाको अर्को बैठक आजै ४ बजेर ४९ मिनेटमा बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !