७ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा सिट बाँडफाँट कार्यदलसहित सत्ता गठबन्धनको बैठक जारी


कार्यदल बैठक

काठमाडौँ । सिट बाँडफाँट गर्न गठित कार्यदलसहित सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलसहित सत्ता गठबन्धनको बैठक जारी रहेको हो ।

पाँच दलीय सत्तागठबन्धनको बैठकमा आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा हिजो पनि गहन छलफल भएपनि सहमतिमा पुग्न नसकिएपछि बैठक आज पनि जारी रहेको हो ।

चुनावी तालमेल गर्दा नेपाली कांग्रेसले १००, नेकपा (माओवादी केन्द्र) ले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले २ सिटको दाबी गरेका थिए । सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ ।

हिजो छलफलमा सहभागी अधिकांश काँग्रेस नेताहरुले १०० बाट एक सिट पनि घट्न नहुने धारणा राखेका थिए । कांग्रेसले आफ्नो अडान नछोडेपछि अरु दलहरुले पनि दावी छोडेनन् । आसन्न निर्वाचनका लागि सिट बाडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्‍याउनका लागि कार्यदलसहितको बैठक आज बस्न लागेको हो ।

प्रतिनिधिसभाका १६५ तथा प्रदेशसभाका ३३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भएपनि तीन साता नाघिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन । आ-आफ्नो अडान नछोड्दा पाँच दलीय सत्ता गठबन्धनलाई सिट बाँडफाँटमा झन् सकस देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !