१२ बैशाख २०८१, बुधबार

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा राष्ट्रियसभाको बैठक आज अपराह्न २.५९ बजे बस्ने भएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीअनुसार आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने पहिलो कार्यसूची रहेको छ ।

यस्तै बीमा विधेयक, २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने सम्भावित दोस्रो कार्यसूची रहेको छ ।

त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने तेस्रो कार्यसूची रहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इशितयाक राईले शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने चौथो कार्यसूची रहेको छ ।

साथै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ लाई प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत गर्ने पाँचौं सम्भावित कार्यसूची रहेको छ ।

यस्तो छ राष्ट्रियसभाको बैठक आजको सम्भावित कार्यसूची

सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !