१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री देउवाले कांग्रेस पदाधिकारीसहित राष्ट्रपति भण्डारीलाई भेट्दै


राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न देउवा पार्टी पदाधिकारीसहित दिउँसो २ बजे राष्ट्रपति भवन शितल निवास जाने भएका हुन् ।

नागरिकता विधेयकको विषयलाई लिएर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच कटुता सिर्जना भएको समयमा भेटवार्ता हुन लाग्नुलाई राजनीतिक वृत्तका चासोका साथ हेरिएको छ । राष्ट्रपति र प्रधानमन्त्री बीचको भेटवार्ताको एजेण्डाका बाहिर सार्वजनिक भएको छैन ।

लामो रस्साकस्सीपछि नागरिकता विधेयकबाट देउवा नेतृत्वको गठबन्धन सरकार पछि हटेको छ । राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकलाई सरकारले विधायन व्यवस्थापन समितिमा छलफल गराउने भएको छ ।

राष्ट्रपति भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई राष्ट्रियसभाले छलफलका लागि विधायन समितिमा पठाएको हो । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तुत गरेको प्रस्तावलाई राष्ट्रियसभाले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

संसदबाट नै जस्ताको त्यस्तै पारित गरेर पुन: राष्ट्रपतिका पठाउने अडान राख्दै आएको सरकार पछि हटेको हो । प्रतिनिधिसभाबाट फास्ट ट्रयाकबाट हुबहु पारित गरेको विधेयकलाई राष्ट्रियसभाले प्रक्रियागत रूपमा अघि बढाएको हो ।

यसअघि संसदीय प्रक्रिया छल्दै फास्ट ट्रयाकबाट विधेयक पारित गरेकोले देउवा सरकारको सर्वत्र आलोचना भएको थियो । राष्ट्रपतिबाट फिर्ता आएको सन्देशलाई सरकारले पूर्णरूपमा बेवास्ता गरेर हुबहु विधेयक पारित गरेको विषयमा आलोचना भएपछि देउवा सरकार पछि हट्न बाध्य भएको हो ।

यसअघि गत शनिबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरुले पनि नागरिकता विधेयकका सम्वन्धमा राष्ट्रपति भण्डारीसित छलफल गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !