६ बैशाख २०८१, बिहिबार

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै


कार्यदलको बैठक

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।

गठबन्धनका शीर्ष नेताहरूले दिएको निर्देशन अनुसार आज कार्यदलको बैठक बस्न लागेको हो । आजको बैठकमा प्रदेश सभा निर्वाचन क्षेत्रका विषयमा छलफल हुनेछ । प्रदेश सभा निर्वाचन क्षेत्रमा कहाँ कुन दलको अवस्था कस्तो छ भन्नेबारे बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएअनुसार कार्यदलमा छलफल निरन्तर चलिरहेको छ । निर्वाचन क्षेत्रमा दलीय अवस्थाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्न गठबन्धनको शीर्ष नेताहरूको बैठकले निर्देशन दिइसकेको छ ।

हिजो बिहीबार बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले १०० सिट, नेकपा (माओवादी केन्द्र) ले ६० सिट, नेकपा (एस) ले ४० सिट, जनता समाजवादी पार्टीले ३२ सिट, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेश गरेका छन् ।

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट सिटौलासहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहेका छन् भने नेकपा (माओवादी केन्द्र) को तर्फबाट देवप्रसाद गुरुङ र वर्षमान पुन सदस्य रहेका छन् ।

यस्तै नेकपा (एकीकृत समाजवादी) को तर्फबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल सदस्य रहेका छन् भने जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट रामसहाय यादव, रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुले आसन्न निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरिसकेका छन् । यद्यपि आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँटफाँटको विषयमा गठबन्धनका दलहरूबीच अझसम्म सहमति जुट्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !