११ बैशाख २०८१, मंगलबार

महाभियोग सिफारिस समितिद्वारा आन्तरिक कार्यविधिको मस्यौदा तयार


महाभियोग सिफारिस समिति फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको महाभियोग सिफारिस समितिको आज बसेको बैठक सकिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमा छानबिन गर्ने गठित महाअभियोग सिफारिस समितिको पहिलो बैठक आज बसेको थियो ।

निलम्बित प्रधानन्यायाधीश जबरामाथिको महाभियोग छानविन गर्न बनेको महाभियोग सिफारिस समितिले कार्यविधि बनाउने निर्णय गरेको छ । आजको बैठकमा जम्मा ११ सदस्यमध्ये ९ जना मात्र उपस्थित भएकोले सभापति चयन गर्ने काम अर्को बैठकका लागि सारिएको हो ।

समितिको पहिलो बैठकमा आन्तरिक कार्यविधिको मस्यौदा तयार पारेको छ । निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि आज बुधबार बसेको समितिको पहिलो बैठकले आन्तरिक कार्यविधिको मस्यौदा तयार गरेको हो ।

समितिको आन्तरिक कामकारबाही सुव्यवस्थित र प्रभावकारी बनाउन आवश्यक भएकाले प्रतिनिधिसभा नियमावली‚ २०७५ को नियम १६३ को उपनियम (५) ले दिएको अधिकार प्रयोग गरी उक्त कार्यविधि बनाइएको कार्यविधिमा उल्लेख गरिएको छ ।

समितिसमक्ष कुनै पनि उजुरी वा प्रस्ताव प्राप्त भएपनि वा प्रस्तावको विषयमा समितिको पहिलो बैठक बसेको मितिलाई नियमावलीको उपनियम (४) बमोजिम समितिले आफ्नो कारवाही प्रारम्भ गरेको मिति मानिने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिमा आरोप लागेको व्यक्तिको उजुरी एवम् छानविनको सिलसिलामा प्राप्त भएको सूचना वा जानकारी र समितिले बुझेको वा संकलन गरेको प्रमाणलाई राखिने भएको छ । निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगमाथि आजदेखि अध्ययन थालिएको हो ।

आजको बैठकमा काम ढिलो सुरु भएको र समयमै सक्ने बारेमा चुनौती रहेको बिषय सांसदहरुले उठाएका थिए । बैठकमा सहभागी सदस्यहरुले कसरी काम छिटो गर्न सकिन्छ सो प्रक्रियाबाट जानुपर्नेमा जोड दिएका थिए ।

संसद सचिवालय सिंहदरबारमा बसेको बैठकले संसदको काम गर्ने समय धेरै नभएकोले छिटो काम सम्पन्न गर्न अध्ययन गर्ने कार्यविधि र समय तालिका बनाउनका संसद सचिवालयलाई जिम्मा दिने निर्णय भएको समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले जानकारी दिए ।

उक्त समितिमा रामबहादुर विष्ट, मीनबहादुर विश्वकर्मा, एकवालमिया, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, यशोदा गुरुङ सुवेदी, रेखाशर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाम्फे सदस्य छन् ।

यस्तो छ महाभियोग समितिले तयार गरेको आन्तरिक कार्यविधिको मस्यौदा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !