७ बैशाख २०८१, शुक्रबार

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, सिट बाँडफाँटको प्रस्ताव पेश हुने


कार्यदल बैठक

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सिट बाँडफाँटका लागि गठन भएको गठबन्धनको कार्यदलको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ ।

बालुवाटारमा स्थित प्रधानमन्त्री निवासमा बस्ने गठबन्धनको कार्यदलको बैठकमा आज सिट बाँडफाँटको प्रस्ताव पेश हुँदैछ । आजको बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेश गर्न लागेका हुन् ।

आजको बैठकमा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको १६५ सिट तथा प्रदेश सभाको ३३० सिटका सिट बाँडफाँटको प्रारम्भिक खाकामा छलफल हुने भएको हो । २०७४ सालको निर्वाचन र गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँटमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँडको मोडालिटीमा छलफल गरेर शीर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ ।

गठबन्धनका शीर्षनेताको बैठकले पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय उक्त कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट नेता कृष्णप्रसाद सिटौला संयोजकसहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहेका छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र) को तर्फबाट नेताहरू वर्षमान पुन र देव गुरुङ सदस्य रहेका छन् भने नेकपा (एकीकृत समाजवादी) को तर्फबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल सदस्य रहेका छन् ।

साथै जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ सदस्य रहेका छन् भने राष्ट्रिय जनमोर्चाको तर्फबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !