४ बैशाख २०८१, मंगलबार

आसन्न निर्वाचनका लागि आयोगमा ८४ दल दर्ता


काँग्रेसद्वारा निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । आसन्न निर्वाचनका लागि निर्वाचन आयोगमा ८४ दल दर्ता भएका छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका हुन् ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेर दल दर्ताको लागि दिइएको अवधिको अन्तिम दिनसम्म ती दलले दर्ताका लागि निवेदन दिएका हुन् । आगामी निर्वाचनको दल दर्ताको समयसीमा हिजो सकिँएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर चुनावमा जाने प्रावधान अनुरुप यसरी निवेदन दिने दलको संख्या चार रहेको छ ।

माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार मंगलबार फेरि माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी एकल चुनाव चिह्नमा जाने गरी दल दर्ताको निवेदन दिन शिव खकुरेल र फणिन्द्र देवकोटा निर्वाचन आयोग पुगेका थिए ।

यसैगरी नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमसमेत माओवादी केन्द्रकै चुनाव चिह्नमा आगामी संघीय निर्वाचनमा भाग लिने सहमति गरेका छन् । आयोगले दर्ता भएका दलका प्राप्त कागजात अस्पष्ट वा नपुगेको भए त्यस्ता कागजात माग्ने काम गर्नेछ।

प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा सहभागिताका लागि स्वीकृति दिने काम टुंगाएपछि मात्रै निर्वाच्नमा भाग लिने दलको खास संख्या यकिन हुने आयोगले बताएको छ ।

आयोगले ती दलको मूल दर्ता र दर्ता मिति, पार्टीको नाम, पार्टीका प्रमुखको नाम, आयोगमा रहेको दल दर्ता नम्बरसमेतको सूचीसहितको विवरण तयार गरेको छ ।

यो पनि पढ्नुहोस्

उपसभापति गुरुङकाे नेतृत्वमा काँग्रेसद्वारा आयोगमा दल दर्ता

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त रुपमा गराए दल दर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !