८ बैशाख २०८१, शनिबार

पेरिसडाँडामा प्रसन्न मुद्रामा प्रचण्ड-बाबुराम, यो हाँसो कहिलेसम्म टिक्ला ?


प्रचण्ड, बाबुराम र नारायणकाजी

काठमाडौं । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा हिजो बिहान बसेको स्थायी कमिटीको बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीलाई दलको चुनाव चिह्न गोलाकारभित्रको ‘हँसिया हथौडा’ दिने निर्णय गरेको थियो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको दल दर्ताको समयसीमा हिजो सकिँएको छ । एकल चुनाव चिह्नका लागि दल दर्ता गर्दा नै निवेदन दिनुपर्ने भएकाले दुई पार्टीका नेताहरू निर्वाचन आयोग पुगेर दल दर्ता पनि गरिसकेका पनि छन् ।

पेरिसडाँडामा प्रचण्ड र बाबुराम

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर लड्ने निर्णयमा पुगेका डा. भट्टराई हिजो दिउँसो माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेका थिए । नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराई अर्का अध्यक्ष महेन्द्रराय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठसहित पेरिसडाँडामा पुगेका थिए ।

प्रचण्ड र बाबुरामबीच एउटै घोषणा पत्र, साझा समानुपातिक सूची र एउटै चिन्ह लिएर चुनावी मैदानमा उत्रने भएको सहमतिलाई माओवादी केन्द्रको स्थायी समिति बैठकबाट अनुमोदन गरिसकेर माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त रुपमा निर्वाचन आयोगमा दल दर्ता पनि गराई सकेका छन् ।

भौतारिएका बाबुराम घुमिफिरी रुम्जाटार !

नेपाली उखान छ- घुमिफिरी रुम्जाटार । नेपाली राजनीतिमा यो उखान चरितार्थ भएको छ । कुनै समय वैकल्पिक राजनीतिको एजेण्डा उठाएर माओवादी केन्द्रबाट बाहिरिएका डा. बाबुराम भट्टराई फेरि उक्त पार्टीकै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा लड्ने भएका छन् ।

तत्कालीन एकीकृत माओवादीलाई भत्किएको ‘रातो स्टिकर टाँसिएको घर’ भन्दै बाबुराम अलग्गिएका थिए । त्यो समयमा घर मात्रै भत्किएको थिएन बाबुरामको बहिर्गमनसँगै प्रचण्ड र बाबुरामको मुटु पनि टुटेको थियो ।

२०७३ साल जेठ ३० गते समृद्धिको नारासहित आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी घोषणा गरे । २०७२ साल असोजसम्म माओवादी नेताकै हैसियतमा रहेका त्यसपछि भट्टराई वैकल्पिक शक्तिको खोजीमा भौतारिएका बाबुराम अन्तत: घुमिफिरी रुम्जाटार भनेझै माओवादीकै चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने तीतो यथार्थमा आइपुगेका छन् ।

सहमतिपछि नेताहरुको प्रतिक्रिया

प्रचण्डको प्रतिक्रिया

बाबुरामलाई पेरिसडाँडामा भेटेपछि प्रचण्डले हिजो भनेका थिए, वामपन्थी र कम्युनिस्ट आन्दोलनमा बाबुराम र प्रचण्ड सँगै उभिने कुराको धेरै ठूलो अर्थ र महत्त्व छ । हामी उभियौं अब कसैले रोकेर रोक्न सक्दैन । यद्यपि एकता भएको हैन । चुनावपछि एउटै केन्द्र बनाउने सहमति भएको छ । यसले नेपालको परिवर्तन गर्ने कुरामा ठूलो महत्त्व छ ।

प्रचण्डले हिजो भनेका थिए, ‘धेरै ठक्कर खायौं । ठेस लागेपछि वुद्धि बढ्छ भने झैं हामी सबैलाई ठेस लाग्यो वुद्धि पनि बढेको छ । हामीले ठक्कर खाँदा देशले पनि दु:ख पायो । हामी मिल्दा देशले पनि केही केही पाउँछ । तैपनि जीवन रहँदासम्म ठेस लागिरहन्छ उपचार पनि गर्दै जानुपर्छ ।’

यस्तै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले हिजो फेसबुकमा तस्विर सेयर गर्दै लेखेका छन्, ‘एक अविस्मरणीय र ऎतिहासिक क्षण, यो खुशी देश र जनताका लागि बाड्न चाहन्छौं।’

बाबुरामको प्रतिक्रिया

प्रचण्ड र बाबुरामवीच भएको सहमतिलाई अनुमोदन भई सकेको छ । प्रचण्ड र नारायणकाजीसंग पेरिसडाँडामा भेटपछि हिजो तत्कालै बाबुरामले सामाजिक संजाल ट्वीटरमा लेखेका थिए, ‘नेकपा ( माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी वीच आगामी निर्वाचन एउटै निर्वाचन चिन्ह लिएर ळड्ने सहमति ! सबैबाट सहयोगको अपेक्षा !’

केवल प्रतिनिधिसभाको चुनाव जित्नको लागि मात्र सहमति भएको भए दुवै पार्टीका नेता-कार्यकर्ताको सहयोगको अपेक्षा गरेका भट्टराईको चाहना पुरा नहोला । राजनीतिमा अस्थिरता र अवसरवादले पार्टी र नेतालाई नै कति हानी पुर्याउँछ भन्ने बाबुराम जस्ता विद्वान नेताको राजनीति विचलनबाट छर्लंग हुन्छ ।

यस्तै सामाजिक संजाल फेसबुकमा बाबुरामले लेखेका छन्, ‘नयाॅ यात्राको शुरूवातमा गम्भीरता र खुशी ! नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी वीच आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एउटै चुनावचिन्ह ( गोलाकारभित्रको हॅसिया-हतौडा) लिएर लड्ने सहमति !’

बाबुरामको नयाँ यात्राको शुरूवातमा गम्भीरता र खुशी दुई देखिएको छ । तर यो नयाँ यात्रा गन्तव्यमा पुगेमा संयोगान्त भई थप हाँसो छाउने स्थिति सिर्जना होला नत्र यो यात्रा गन्तव्यमा नपुगेमा बियोगान्त भई रोदन गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।

तयस्तै फेसबुकमै बाबुरामलेअर्को स्टाट्स लेखेका छन्, ‘नयाँ अग्रगामी वैकल्पिक शक्ति निर्माण गर्ने रणनीतिक लक्ष्य सहित नेकपा ( माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी वीच चुनावी तालमेल गर्ने र एउटै चुनावचिन्हमा आगामी निर्वाचन लड्ने सहमति !’

अव नेपाली राजनीतिमा यो वैकल्पिक शक्ति भन्ने शब्दलाई आम नेपाली नागरिकले अहिलेसम्म स्वीकार नगरिसकेको स्थिति हो । आम नेपाली जनताले आशा गरेका बाबुरामको बैकल्पिक शक्ति निर्माण गर्ने रणनीतिक लक्ष्य अझसम्म अधुरो नै रहेको देखिन्छ ।

राजनीतिज्ञमा सैद्धान्तिक स्थिरता हुन जरुरी भएपनि एउटै पार्टीमा रहेर समयसापेक्ष आफ्नो पार्टीको सिद्धान्तलाई परिमार्जन गर्न सकिन्छ । देश विकास गर्न सिद्धान्त भन्दा पनि नेतामा हुनुपर्ने सकारात्मक हुटहुटी, दृढ संकल्प र दूरदृष्टिको क्रमिक कार्यान्वयन महत्वपूर्ण कुराहरु हुन् ।

किन प्रचण्ड-बाबुराम फेरि मिल्दैछन् ?

किन प्रचण्ड-बाबुराम फेरि मिल्दैछन् ? भन्ने प्रश्नको उत्तर त्यति सहज छैन । तर उनीहरुलाई एकै ठाउँमा जोड्ने एउटा खास कुरो भनेको संक्रमणकालीन न्याय व्यवस्थापन गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु पनि हो ।

प्रचण्ड र बाबुरामलाई पनि संक्रमणकालीन न्याय व्यवस्थापन गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु उनीहरुको बाध्यता पनि हो । प्रचण्डको साथ पाएर बनेको गठबन्धन देउवा सरकार शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन लागी परेको छ ।

पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको हिजो बसेको बैठकले संक्रमणकालीन न्याय व्यवस्थापनका लागि ल्याइएका विधेयकमा सरोकारवालाको सुझाव समेटेर संशोधन गर्ने निर्णय गरेको छ । गठबन्धनको बैठकमा संक्रमणकालीन न्याय निरूपणका लागि ल्याइएका विधेयकलाई संशोधन गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन आवश्यक काम गर्ने समझदारी बनेको हो ।

सरकारले संसदमा भर्खरै मात्र दर्ता गरेको उक्त विधेयकमा राष्ट्रिय मानवअधिकार आयोगले विधेयकको विषयबस्तुमा गम्भीर आपत्ति जनाएको छ भने द्वन्द्वपीडितहरु समेत आन्दोलनमा रहेका छन् । गठबन्धनको बैठकले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न सरोकारवालासँग परामर्श गर्ने र विधेयक संशोधन गर्ने सहमति गरेको हो ।

२०७७ साल फागुन १ गते शनिबार बाबुरामको पुस्तक ‘गुमनाम आमाहरूका कथा’ विमोचन कार्यक्रमबाट प्रचण्डले बाबुराम-प्रचण्ड चाहेर पनि अलग हुन नसक्ने धारणा राखेका थिए । उनले भनेका थिए, ‘परिवर्तित राजनीतिक घटनाक्रमका विरुद्ध संघर्षका लागि, जनयुद्धमा ज्यान गुमाएका सहिदका लागि र योद्धाहरूका लागि सबै दृष्टिकोणले विश्लेषण र संश्लेषण गर्दा हामीलाई अलग होइन एकैठाउँमा आउन प्रेरित गरेको छ ।’

प्रचण्ड आसन्न निर्वाचनपछि बाबुरामको पार्टीसहित वामपन्थी दलहरूबीच एकता गरेर प्रमुख शक्ति बनाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शेखी झार्न चाहन्छन् । बाबुराम र आफू एकै ठाउँमा उभिँदा वामपन्थी राजनीति धेरै अर्थपूर्ण हुने उनको बुझाई रहेको छ । साथै यस्तो गठबन्धन देशको समृद्धिको यात्रा र वामपन्थी आन्दोलनमा महत्त्वपूर्ण हुने प्रचण्डले बताएका छन् ।

यस्तै प्रचण्डले हिजो चुनावपछि नेकपा (एकीकृत समाजवादी) लगायत वामपन्थी दलहरूसँग पनि एकता संयोजन समिति बनाउने तयारी गरिएको बताएका थिए । यसका लागि नामबारे यकिन नभए पनि नेपाल कम्युनिस्ट पार्टी रहनेमा सबैको सहमति भएको उनले बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको निरन्तरको छलफल पछि अन्ततः माओवादी केन्द्रकै चुनाव चिह्नमा चुनाव लड्न तयार भए । भट्टराईको आग्रहअनुसार नै माओवादी केन्द्रले सो निर्णय गरेको हो । योसँगै आसन्न निर्वाचनमा बाबुराम माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हतौडाबाट निर्वाचन लड्ने भएका हुन् ।

यति मात्र नभएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराई निर्वाचनपछि समाजवादी केन्द्र बनाउने रणनीतिसहित साझा चुनाव चिह्न र घोषणापत्रसहित प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा भाग लिने सहमति गरेका छन् ।

यो हाँसो कहिलेसम्म टिक्ला ?

नेपालका राजनीति दलहरु विभाजन भएर नै देशमा राजनीतिक अस्थिरता सिर्जना भएको हो । बाबुराम माओवादीबाट अलग नभएका भए अहिले माओवादी केन्द्र प्रमुख राजनीतिक शक्ति केन्द्रकै रुपमा नेपालमा रहिरहनसक्ने प्रवल सम्भावना जीवित रहन सक्थ्यो । यस्तै नेकपाबाट प्रचण्ड र माधव नेपाल अलग नभएको भए नेकपा पहिलो दल भएर सत्ता संचालनको बागडोर केही वर्षसम्म सम्हालिरहेको हुन्थ्यो होला सहजै अनुमान लगाउन गार्हो छैन ।

प्रचण्डले हिजो आफूहरुले धेरै ठक्कर खाइ सकेकोले ठेस लागेपछि वुद्धि बढ्छ भने झैं सबैलाई ठेस लाग्यो वुद्धि पनि बढेको प्रतिक्रिया दिएका छन् । उनले आफूहरुले ठक्कर खाँदा देशले पनि दु:ख पाएकोले मिल्दा देशले पनि केही पाउँने भएकोले जीवन रहँदासम्म ठेस लागिरहे पनि उपचार पनि गर्दै अघि बढ्न अप्रत्यक्ष रुपमा बाबुरामको टुटेको मनलाई सिलाउन खोजेका छन् ।

लामो समयपछि पुरानो आफ्नो पार्टी कार्यालय पुग्दा डा. भट्टराई प्रशन्न देखिन्थे भने आफ्ना पुराना सहकर्मी पुन: सहकार्यका लागि आफ्नो पार्टी कार्यालय आएकोमा प्रचण्डको मुहारमा पनि हाँसो छाएको थियो । यसैबीच उनीहरुले माओवादीको तर्फबाट प्रचण्ड र नारायणकाजी तथा नेपाल समाजवादीको तर्फबाट भट्टराई र यादव गरी दुई-दुई जना गरी चार जनाले सामुहिक फोटो खिचाएर दुई पार्टीका नेता-कार्यकर्ता भावी मिलनको पूर्वसंकेत दिएका छन् ।

हिजो पेरिसडाँडामा छलफलपछि सिट बाँडफाँटमा सहमति जुटेपछि हाँसो सहितको तस्विर खिँचाउँदै नेताहरु बिदा भएका थिए । पेरिसडाँडामा प्रसन्न मुद्रामा प्रचण्ड, बाबुराम र नारायणकाजी देखिएपनि यो हाँसो कहिलेसम्म टिक्ला ? भन्ने प्रश्नको उत्तर थाहा पाउन केहि समय कुर्नुपर्ने देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !