१३ बैशाख २०८१, बिहिबार

बर्दिया छोडेर प्युठानबाट चुनाव लड्ने वामदेवको चाहना


वामदेव गौतम

काठमाडौँ । राष्ट्रियसभा सदस्य समेत रहेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आसन्न निर्वाचनमा बर्दिया छोडेर प्युठानबाट चुनाव लड्ने चाहना व्यक्त गरेका छन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा गौतम वर्दिया क्षेत्र नम्वर १ बाट पराजित भएका थिए । बर्दियाबाट चुनाव लड्नुअघि उनले प्युठान-१ बाट प्रतिस्पर्धा गरेका थिए ।

कांग्रेसका संजय कुमार गौतमले उनलाई चुनाव हराएका थिए । अहिले उक्त निर्वाचन क्षेत्रमा कांग्रेसले नै दावी गरेकोले बामदेव निर्वाचन क्षेत्र परिवर्तन गरेर प्युठानबाट आगामी प्रतिनिधिसभाको चुनाव लड्ने तयारी गरेका हुन् ।

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई दलको चुनाव चिह्न गोलाकारभित्रको ‘हँसिया हथौडा’ बाट चुनाव लड्न दिने निर्णय गरेको छ ।

राष्ट्रियसभामा अझै ४ वर्षे कार्यकाल बाँकी नै रहेका गौतमले प्रतिनिधिसभामा चुनाव लड्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिने तयारी समेत गरेका छन् । गौतमले राष्ट्रियसभाबाट राजीनामा दिएर माओवादीको चुनाव चिह्न लिई प्युठानबाट प्रतिनिधिसभामा चुनाव लड्न राजी भएका हुन् ।

गौतमको आग्रहअनुसार नै माओवादी केन्द्रले सो निर्णय गरेसँगै आसन्न निर्वाचनमा वामदेव चुनाव चिह्न हँसिया हतौडाबाट निर्वाचन लड्ने भएका हुन् । गौतमले सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा भागबण्डा मिल्ने वित्तिकै राष्ट्रियसभा सदस्यबाट राजीनामा दिने तयारी गरेका हुन् ।

माओवादीसँग उनको दावी प्रत्यक्षमा प्रतिनिधि सभामा १ सिट र प्रदेश सभामा २ सिट दिनुपर्ने माग गरेका छन् । उनले प्यूठान या वर्दियाबाट चुनाव लड्न चाहेपनि उनको पहिलो रोजाई प्यूठान रहेको हो ।

तर प्यूठानमा सत्ता गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष समेत रहेकी नेतृ दुर्गा पौडेल यसअघिको चुनावमा निर्वाचित भएकी थिइन् । उनको समेत सहमतिमा जनमोर्चालाई अन्यत्र निर्वाचन क्षेत्रमा व्यवस्थापन गर्न सकिए गौतम प्यूठानबाटै चुनाव लड्न चाहेका छन् ।

तर यस विषयमा जनमोर्चासँग सहमति नभए उनले बर्दियाबाट चुनाव लड्ने योजना पनि बनाएका छन् । गौतम निकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि यस विषयमा उनले छलफल गरिसकेका छन् । देउवाले प्यूठान वा वर्दिया एक ठाँउबाट उनका लागि चुनाव लड्न सिट मिलाउने आश्वासन दिएपछि गौतम प्रतिनिधिसभा चुनाव लड्न जोशिएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिनिधिसभामा चुनाव लड्न राष्ट्रियसभाबाट राजीनामा दिने वामदेवको तयारी

बाबुराम र वामदेवलाई ‘हँसिया हथौडा’ चिह्नबाट चुनाव लड्न दिने माओवादीको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !