८ बैशाख २०८१, शनिबार

विवेकशील पार्टीको अध्यक्षमा बाँस्कोटा र संयोजकमा भट्टराई चयन

समीक्षा बाँस्कोटा बनिन् विवेकशील साझा पार्टीको पहिलो महिला अध्यक्ष


समीक्षा बाँस्कोटा र सञ्जीवबल्लभ भट्टराई

काठमाडौं । अन्तत: विवेकशील साझा पार्टीले पहिलो महिला पार्टी अध्यक्ष पाएको छ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा र संयोजकमा सञ्जीवबल्लभ भट्टराई चयन भएका छन् ।

विवेकशील साझा पार्टीको आज आइतबार दिउँसो बसेको केन्द्रीय समिति बैठकले अध्यक्षमा बाँस्कोटा र संयोजकमा भट्टराईलाई चयन गरेको हो । यस्तै बैठकले पार्टी अध्यक्षबाट मिश्रले दिएको राजीनामा स्वीकृत गरेको छ भने नयाँ अध्यक्ष र संयोजक चयन गरेको हो ।

रवीन्द्र मिश्रले पार्टी अध्यक्षबाट राजीनामा दिएपछि उक्त पार्टीको अध्यक्ष पद रिक्त रहेको थियो । मिश्रले आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा आपेक्षाकृत नतिजा हासिल गर्न नसकेपछि विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट गत जेठ ११ गते राजीनामा दिएका थिए ।

बिगतमा बाग्मती प्रदेशको संयोजक रहेकी बाँस्कोटा गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन् ।

सो पार्टीका बागमती प्रदेशकी पूर्व संयोजक ३८ वर्षीय बाँस्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार थिइन् ।

त्यसअघि उनले २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभा सदस्यको उमेदवार बनेर २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन्।उनले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छिन् ।

संयोजक चयन भएका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य भट्टराईले समाजशास्त्र,अर्थशास्त्र र अंग्रेजी भाषामा स्नातक गरेका छन् । यस्तै ३४ वर्षीय भट्टराई तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको नीति विभाग प्रमुख थिए ।

चुनावका लागि पार्टी दर्ता गर्ने समय साउन ३१ गतेसम्म मात्रै भएकोले नयाँ अध्यक्ष चयन गरेकोले चुनावका लागि निर्वाचन आयोगमा उक्त पार्टी दर्ता गरिने भएको छ । महिलालाई पार्टी अध्यक्ष बनाएर फरक सन्देश दिने मनसायले अव पार्टीलाई नयाँ ढंगबाट पार्टी सञ्चालन गर्ने रणनीति विवेकशील साझा पार्टीले लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !