६ बैशाख २०८१, बिहिबार

विवेकशील साझाले पहिलो महिला अध्यक्ष पाउँदै, बाँस्कोटालाई अध्यक्ष बनाउने सहमति


काठमाडौं । विवेकशील साझा पार्टीले पहिलो महिला पार्टी अध्यक्ष पाउने भएको छ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा र संयोजकमा सञ्जीवबल्लभ भट्टराईको नाममा सहमति जुटेको छ ।

रवीन्द्र मिश्रले पार्टी अध्यक्षबाट राजीनामा दिएपछि उक्त पार्टीको अध्यक्ष पद रिक्त रहेको थियो । विवेकशील साझाका एक नेताका अनुसार आजै आइतबार ३ बजे पार्टीको बैठक बोलाइएको छ । आज बस्ने केन्द्रीय समिति बैठकले अध्यक्षबाट मिश्रले दिएको राजीनामा स्वीकृत गर्ने र नयाँ अध्यक्ष र संयोजक बनाइने भएको हो ।

मिश्रले आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा आपेक्षाकृत नतिजा हासिल गर्न नसकेपछि विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । मिश्रले गत जेठ ११ गते राजीनामा दिएपनि उनको राजीनामाबारे केन्द्रीय समितिमा छलफल हुन सकेको थिएन ।

बिगतमा बाग्मती प्रदेशको संयोजक रहेकी बाँस्कोटा गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन् । विवेकशील साझा पार्टीको आज बस्न लागेको बैठकमा नयाँ अध्यक्षमा समीक्षा बाँस्कोटालाई प्रस्ताव गरिने भएको हो ।

चुनावका लागि पार्टी दर्ता गर्ने समय साउन ३१ गतेसम्म मात्रै भएकोले नयाँ अध्यक्ष चयन गरेर चुनावका लागि निर्वाचन आयोगमा उक्त पार्टी दर्ता गरिने छ । महिलालाई पार्टी अध्यक्ष बनाएर फरक सन्देश दिने मनसायले अव पार्टीलाई नयाँ ढंगबाट पार्टी सञ्चालन गर्ने रणनीति विवेकशील साझा पार्टीले लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !